ग्याजेट विशेष

दुधको उत्पादन बढाउनका लागि गाईलाई नै VR हेडसेट

  नागरिक   2019-11-29

गाईको मानसिक अवस्था सुधार गर्नका लागि र दुधको उत्पादन बढाउनका लागि रसियाको मस्काउ सहरमा निकै नौलो तरिका अपनाउन सुरु गरिएको छ । मस्काउको केही स्थानको किसानहरूले गाईलाई नै VR हेडसेट लगाइदिने गरेका छन् । यस हेडसेटले गाईहरूको मानसिक स्थितिलाई सुधार हुने र दुधको उत्पादन धेरै हुने भनाइ किसानहरूको रहेको छ ।

शान्त वातावरणमा स्थित डेरी फार्महरूमा पालिएका गाईहरूले धेरै दुध दिने कुराको उदारहणहरू धेरै भेटिएका छन् । वातावरण शान्त भएको अवस्थामा गाई र भैसीहरूले धेरै दुध दिनुका साथै उन्नत गुणस्तरको दुध दिने गरेको पनि भेटिएको छ । यही कुरालाई नै मध्यनजर गर्दै मस्काउका किसानहरूले गाईहरूलाई VR अर्थात् Virual Reality हेडसेट लगाइदिन लागेका हुन् ।

थोरै गाईहरूमा परिक्षणका रूपमा गरिएको यस कार्यको नतिजा सकरात्मक आएको छ ।  VR हेडसेटमा गर्मी यामको हरियाली मौसम र रंगले भरिपूर्ण वातावरणहरू देखाइएका हुन्छन् । यही हरियाली वातावरणले गर्दा गाईहरूको मानसिक अवस्थामा सुधार आउने र दुधको उत्पादन र गुणस्तरमा सुधार आउने कुराको निष्कर्ष मस्काउका किसानहरूले निकालेका छन् ।

प्रारम्भिक परिक्षणमा VR हेडसेट लगाइदिनुको नतिजा राम्रो आएका कारणले यसमा थप अनुसन्धान र परिक्षण गरिने भएको छ । यस प्रविधिको दीर्घकालीन असर र परिणामहरू के कस्ता हुन्छन भन्ने कुराको औपचारिक र वैज्ञानिक अनुसन्धान गरिने कुराको जानकारी रसियाको कृषि तथा खाद्यान्न मन्त्रालयले दिएको छ ।

स्रोत: बीबीसी

 

 

यसमा तपाईको मत