ग्याजेट विशेष

हुवावेले 5G सपोर्ट गर्ने पहिलो ट्याब्लेट निकाल्दै - आइप्याडलाई टक्कर दिने !

  नागरिक   2019-11-27

चिनियाँ कम्पनी हुवावेले एप्पलको आइप्याड प्रोलाई टक्कर दिनका लागि नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । उक्त ट्याब्लेटको नाम मेटप्याड प्रो रहेको छ । यो ट्याब्लेटले आइप्याड प्रोका साथै सामसंगको नयाँ सामसंग ग्यालेक्सी ट्याब एस सिक्ससँग पनि प्रतिस्पर्धा गर्नेछ ।

हुवावे मेटप्याड प्रोमा १०.८ इन्चको डिस्प्ले राखिएको छ । यो डिस्प्ले एमोलेड प्रविधिको रहेको छ । सामसंगको ग्यालेक्सी ट्याब एस सिक्समा पनि यहि प्रविधिको डिस्प्ले रहेको छ । आइप्याड प्रोमा आइपीएस एलसीडी डिस्प्ले राखिएको छ । निकै थोरै बेजलका साथ अगाडी पट्टि होलपन्च क्यामरा पनि रहेको छ जसको रेजोलुसन ८ मेगापिक्सलको रहेको छ ।

हुवावेले यस ट्याब्लेटमा आफैंले निर्माण गरेको सबैभन्दा शक्तिशाली प्रोसेसरको प्रयोग गरेको छ । उक्त प्रोसेसरको नाम हुवावे किरिन ९९० रहेको छ । यो फास्ट प्रोसेसरलाई साथ दिनका लागि ६ वा ८ जीबी रहेको छ । ६ जीबी र्याम भएको मोडलमा १२८ जीबी इन्टरनल स्टोरेज रहने छ भने ८ जीबी र्याम मोडलमा २५६ जीबी इन्टरनल स्टोरेज रहनेछ । पछाडीको भागमा १३ मेगापिक्सलको क्यामरा राखिएको छ ।

यो ट्याब्लेटमा एन्ड्रोइडको सबैभन्दा नयाँ संस्करण अर्थात् एन्ड्रोइड १० चल्ने छ । तर अमेरिकी प्रतिबन्धका कारणले गर्दा हुवावेको यस ट्याब्लेटमा गुगल प्ले हुनेछैन । एप्सहरू इन्स्टल गर्नका लागि हुवावेको आफ्नै स्टोर समावेश गरिएको छ ।

माइक्रोसफ्टको सरफेस प्रो र एप्पलको आइप्याड प्रो मा जस्तै यस ट्याब्लेटमा पनि किबोर्ड कभर प्रयोग गर्न मिल्ने छ जसले गर्दा यस ट्याब्लेटलाई पनि ल्यापटप जसरी प्रयोग गर्न सकिनेछ । यस ट्याब्लेटमा चित्र कोर्न र नोटहरू लेख्नका लागि हुवावेले एम-पेन पनि उपलब्ध गराउने छ ।

हुवावेको मेटप्याड प्रो सेतो, हरियो, कालो र सुन्तलाको रंगमा उपलब्ध हुने छ । सबैभन्दा तल्लो स्तरको मोडललाई ४७० डलर तोकिएको छ भने उन्नतम मोडललाई ६४० अमेरिकी डलर तोकिएको छ । सबैभन्दा महँगो मोडलमा फाइभ जी पनि समावेश गरिने छ, जुन सन् २०२० मा उपलब्ध हुनेछ ।

 

 

यसमा तपाईको मत