ग्याजेट विशेष

एप्पलले पनि प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको भेटियो

  नागरिक   2019-07-28

विश्व कै सबैभन्दा ठूलो प्रविधि कम्पनी मध्ये एक र निकै प्रचालित आइफोन निर्माताले पनि प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको भेटिएको छ । एप्पलले विभिन्न ठेकेदारहरूलाई आइफोनको भर्चुअल एसिस्टेन्ट सिरीसँग गरेको कुराकानी सुन्न र विश्लेषण गर्नका लागि पैसा दिँदै आएको भन्दै गार्डीएनले समाचार रिपोर्ट प्रकाशन गरेको छ ।

एप्पलबाट आइफोन प्रयोगकर्ताको कुराहरू सुन्न र अवलोकन गर्न अधिकार पाएको उक्त ठेकदार कम्पनीहरूले थुप्रै प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारीहरू सहितको सिरीसँगको कुराकानी सुन्ने गरेको कुरा यहि काममा लागेका पूर्व - ठेकेदारले खुलासा गरेका हुन् । उक्त व्यक्तिगत जानकारीहरूमा प्रयोगकर्ताको नाम, ठेगाना, प्रयोगकर्ताको चिकित्सकिय इतिहास, प्रयोगकर्ताले खाने औषधि आदि जस्ता गोप्य कुराहरू समावेश गरिएको थियो ।

सोही ठेकेदारका अनुसार सिरीसँग भएको कुराकानीहरूको एक प्रतिलिप कम्पनीका कर्मचारीहरूलाई पठाउने गरिन्छ । पठाइएको कुराकानीको प्रतिलिपीलाई कर्मचारीहरूले सुनेर र अवलोकन गरेर उक्त कुराकानीको तह र बर्ग छुट्टाउने गरिन्छ - जस्तै सो सिरीसँगको कुराकानी फलदायक रह्यो कि रहेन आदि ।

तर एप्पलले अहिलेसम्म सिरीसँगका कुराकानीहरू कम्पनी वा एप्पलसँग आवद्ध अन्य कम्पनीका क्रमचारीहरूले सुन्ने गरेको भन्ने कुराको जानकारी सार्वजनिक गरेको छैन । एप्पलको गोपनीयता पृष्ठमा पनि यस बारेमा कुनै पनि प्रकारको जानकारी उल्लेख गरिएको छैन । सो गोपनीयता पृष्ठमा सिरीलाई सुधार गर्नका लागि एप्पलले प्रयोगकर्ताको नाम, सम्पर्क, प्रयोगकर्ताले सुन्ने संगीत आदि जस्ता कुराको जानकारीहरू एप्पलको सर्भरमा पठाउने कुराको उल्लेख गरेको छ । तर सो जानकारीहरूलाई कुनै व्यक्तिले सुन्ने भनेर कहिँ पनि उल्लेख गरिएको छैन ।

गार्डीएनले प्रकाशन गरेको रिपोर्टको जवाफमा एप्पलले “सिरीको श्रुतलेख सुधारका लागिनिकै न्यून प्रयोगकर्ताको कुराकानीहरूलाई कर्मचारीले नै सुन्ने र विश्लेषण गर्ने गर्छन” भन्ने  तर्क व्यक्त गरेको छ ।  एप्पलका अनुसार केवल १ प्रतिशत मात्र प्रयोगकर्ताको डेटा सो तरिकाले सुनिने र विश्लेषण हुने गर्छ । तर एप्पलको आइफोन प्रयोगकर्ताको संख्या नै निकै धेरै भएकाले सो १ प्रतिशत पनि कुनै सानो संख्या होइन ।

प्रयोगकर्ताको कुराकानी सुन्ने काममा फस्ने एप्पल मात्र होइन - यही काम अमेजन र गुगलले आफ्नो अलेक्सा र होम  मिनी मार्फत गर्दै आएको भन्ने कुराको जानकारी पनि केही महिना अगाडी मात्र आएको थियो । प्रयोगकर्ताको गोपनीयताको सबैभन्दा धेरै कदर गर्ने कम्पनी भनेर चिनिदै आएको एप्पलले यस्तो गरेको भेटिँदा एप्पलको गोपनीयताको प्रतिवद्धता माथि प्रश्न उठेको छ ।

एप्पलले गोपनीयताको निकै नै कदर गर्ने भन्दै विभिन्न प्रचारहरू पनि गर्दै आएको छ । उक्त प्रचारले गर्दा र प्रयोगकर्ताको एप्पल माथिको दशक पुरानो विश्वासले गर्दा नै एप्पल प्रयोगकर्ताहरूले सिरीसँग विभिन्न गोप्य प्रश्नहरू सोध्ने गर्छन। कतिपय समयमा प्रयोगकर्ताको मनसाय बिना नै बटन थिचिएर सिरी सुचारु हुनेगर्दछ र  यस्तो समयमा भएको कुराकानी पनि एप्पलले अन्य कर्मचारीलाई सुन्नका लागि पठाउने गर्दछ । यसबाट प्रयोगकर्ताको निकै गोपनीय र निकै संबेदनशील जानकारीहरू कुनै अपरिचित व्यक्तिले पाउने डर रहन्छ ।   

सिरीसँगको कुराकानी पनि एप्पलसँग आवद्ध नभएको अपरिचित व्यक्तिले सुन्ने कुराको खुलासा भएसँगै एप्पलको गोपनीयताको सुरक्षा माथि प्रश्न उठेको छ । हालका लागि यस मुद्दाबाट बाहिर निस्कनका लागि एप्पलले कुनै पनि प्रकारको विकल्प दिएको छैन । आफ्नो गोपनीयता सुरक्षित राख्न चाहनेहरूले हालका लागि सिरीलाई बन्द गर्नु नै उचित हुन्छ ।

स्रोत : गार्डीएन

 

यसमा तपाईको मत