ग्याजेट विशेष

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

  नागरिक   2019-09-18

तपाईंको अहिलेको ल्यापटपको ब्याट्री लाइफ कति छ ? ५ घण्टा ? १० घण्टा? प्रचलित ल्यापटप निर्माता एचपीको नयाँ ल्यापटपमा  २४ घण्टा ब्याट्री लाइफ भएको कुराको दाबी कम्पनीले गरेको छ । यो ल्यापटपको नाम एचपी इलाइट ड्रागनफ्लाई रहेको छ । एचपीले हालै यो नयाँ पोर्टेबल ल्यापटपलाई सार्वजनिक गरेको हो र यस ल्यापटपको मुख्य आकर्षण नै यसको ब्याट्री लाइफ सम्बन्धित दाबी रहेको छ ।

एचपीले यो ल्यापटपले २४.५ घण्टासम्म ब्याट्री लाइफ प्रदान गर्ने दाबी गरेको छ । यसका लागि एचपीले यो ल्यापटपमा निकै कम उर्जा खपत गर्ने डिस्प्ले, कम उर्जा खपत गर्ने प्रोसेसर र ५६.२ वाट प्रति घण्टाको ब्याट्री समावेश गरेको छ । यो ब्याट्रीको साइज अन्य ल्यापटपको तुलनामा खासै धेरै होइन - एप्पलको प्रचलित म्याकबुकमा भन्दा पनि सानो ब्याट्री भएको छ यो ल्यापटपमा । तर एचपी केवल १ वाट मात्र प्रयोग गर्ने निकै उर्जा कुशल डिस्प्लेको प्रयोग गरेको छ । डिस्प्लेको रेजोलुसन पनि यही रेन्जका ल्यापटपको भन्दा कम रहेको छ - अन्य ल्यापटपहरूले १४४०p डिस्प्लेहरू प्रयोग गर्ने गरे पनि यस ल्यापटपमा केवल १०८०p डिस्प्ले अर्थात् फुक एच डी डिस्प्ले प्रयोग गरिएको छ जसले ब्याट्री लाइफको बचतको लागि सहयोग पुर्याउने छ । यही कारणले पनि १६ मिलिमिटर मोटाइ रहेको यो नयाँ ल्यापटपले पनि धेरै ब्याट्री लाइफ दिन सक्ने भनिएको हो ।

एचपीले यो ब्याट्री लाइफको संख्या भने मोबाइल मार्क २०१४ नाम गरेको बेन्चमार्कबाट निकालेको हो जुन हामीले दिन कै गर्ने कामहरू भन्दा केही हदसम्म हल्का रहेको छ । यसर्थ साधारण रुपमा इन्टरनेट चलाउँदा, गेम खेल्दा र फोटोशप चलाउँदा र अन्य ब्याट्री धेरै खपत गर्ने काम गर्दा यस ल्यापटपको ब्याट्री लाइफ पक्कै पनि २४ घण्टा हुने छैन । तर भिडियो हेर्दा भने प्रयोगकर्ताले लगभग २४ घण्टा ब्याट्री लाइफ पाउन सक्ने छन् |

यस ल्यापटपका अन्य फिचरहरू चाँही खासै अभिनव छैन ।  व्यापारिक र व्यक्तिगत प्रयोगका लागि रिलिज गर्न लागिएको यस ल्यापटपमा १३.३ इन्चको डिस्प्ले रहेको छ जुनमा टच स्क्रिन पनि समावेश गरिएको छ । यो ल्यापटपमा ३६० डिग्री घुमाउन मिल्छ जसबाट यस ल्यापटपलाई ट्याब्लेट जसरी पनि प्रयोग गर्न सकिन्छ । केवल १ किलोग्राम तौल रहेको यस ल्यापटपमा फास्ट र एक संस्करण पुरानो प्रोसेसर पनि राखिएको छ । दुई देखि चारवटासम्म कोरहरू भएको इन्टेलको आठौँ संस्करणको प्रोसेसरहरू प्रयोग गरिएको छ । तर इन्टेलको नयाँ आउन लागेको आइस लेक प्रोसेसरको भने प्रयोग भएको छैन । यो ल्यापटप सीएनसी मेसिन्ड म्याग्नेसियमबाट निर्माण गरिएको छ जसले गर्दा  यो ल्यापटपको निर्माण गुणस्तर पनि सम्भवत राम्रो नै हुनेछ । १२८ जीबी देखि ५१२ जीबीको आन्तरिक स्टोरेज मोडलमा उपलब्ध गराइने यस ल्यापटपमा १६ जीबीसम्म र्याम लाग्ने छ ।

स्रोत : AnandTech

यसमा तपाईको मत