घर निर्माण विशेष

घरमा मोर्डन लाइटिंग

  नागरिक   2018-04-09

घर निर्माण पछि सबैभन्दा बढी बेवास्ता गरिने कुरा घरको लाइटिंग हो । घरमा राम्रो लाइटिंग छ भने घरको वातावरण नै बेग्लै भएर आउछ र आकर्षक देखिन्छ। सबै कोठामा पनि एकैनासको लाइट राख्नु हुदैन। कोठा अनुसार नै कस्तो लाइट राख्ने भन्ने कुराको ख्याल गर्नु पर्छ। घरमा लाइट सेट गर्दा ख्याल गर्नु पर्ने सबै कुराको जानकारी तल दिईएको छ:

 

तह तहमा लाइटिंग

लाइटका मुख्य तीन तहहरु हुन्छन: एम्बिएन्ट, टास्क र एक्सेंट। यी तीनवटा मध्ये कुनै पनि दुईवटा लाइट कोठामा हुनु राम्रो हुन्छ। यी तीनका आफ्ना आफ्नै काम र प्रयोजन हुन्छ।

एम्बिएन्ट लाइटिंग ​ 

यस्तो किसिमको लाइटिंग हरेक कोठाको लागि चाहिंने लाइटिंग हो। यसले समग्रमा आनन्दकर अनुभव पैदा गर्छ। यस्तो किसिमको लाइटिंग मन्द र मधुर हुन्छ, चहकिला हुदैनन्। मुख्यतः घरका उपकरणहरुको वरिपरि पर्ने अध्यारो भाग हटाउनका लागि यस्तो किसिमको लाइटिंग लगाइन्छ – जस्तै पंखाको माथिल्लो पट्टि, कम्प्युटर मोनिटरको पछाडी पट्टि, ए.सी. को साइडमा आदि। भन्नु पर्दा त यस्तो लाइटिंग लगभग घरको सबै उपकरण र स्थानहरुमा फिट गर्न सकिन्छ। यस्तो लाइटिंग पाउनका लागि मानिसहरुले बेग्ला बेग्लै रंगको LED बत्तीको प्रयोग गर्छन। यस्तो लाइटिंगलाई मात्र कोठाको मुख्य लाइटिंगको स्रोतको रुपमा प्रयोग गर्नु भने हुदैन ।
 

टास्क लाइटिंग

टास्क लाइटिंग नै तपाईको कोठाको मुख्य लाइटको स्रोत हो। कोठाको लागि आवश्यक पर्ने प्रकाश र उज्यालो टास्क लाइटिंग अन्तर्गत स्थापन गरेको लाइटले नै प्रदान गर्छ। यसले नै कोठाको लागि तीब्र र प्रत्यक्ष प्रदान गर्छ – कोठामा पढ्नका लागि,भान्सामा खाना बनाउनका लागि, बाथरूमका लागि। टास्क लाइटिंग स्थापनका लागि भने विशेष ध्यान पुर्याउनु आवश्यक हुन्छ। कस्तो कोठामा कस्तो लाइट चाहिन्छ, कतिको चहकिलो लाइट चाहिन्छ र कति वटा बल्बहरु चाहिन्छ भन्ने कुरा बिचार पुर्याउनु पर्ने हुन्छ। सामान्यतया चहकिला CFL बल्ब, ट्युबलाइट आदिको प्रयोगबाट घरका कोठाहरुमा टास्क लाइटिंग गरिन्छ – यसको सट्टामा टेबल लेम्प पनि प्रयोग गर्न सकिन्छ।

 

एक्सेंट लाइटिंग 

यस्तो लाइटिंग मुख्यतः कोठालाई अझ राम्रो देखाउनका लागि गरिन्छ। यो लाइटिंग विधिलाई एम्बिएन्ट लाइटिंगको परिपूरक पनि मान्न सकिन्छ। कोठाको भित्तामा सजिएका पेन्टिंग, चित्र, घडी आदि जस्ता सज्जावट सम्बन्धी कुराहरुलाई थप आकर्षक बनाउनका लागि यस्तो लाइटिंग विधि प्रयोग गरिन्छ। यस्ता लाइटहरु मधुर हुन्छन र थोरै गाइड भागलाई मात्र उज्यालो बनाउन प्रयोग गरिन्छ। विभिन्न रंगको LEDको प्रयोग गरेर यस्तो लाइटिंग विधिलाई कोठामा स्थापना गर्न सकिन्छ ।  

 

​कुन कोठामा कस्तो लाइटिंग उचित?

 

प्रवेश कक्ष:

 

 

 

प्रवेश कक्षले नै पाहुना र अन्य घरमा आउने साथीहरुलाई पहिलो प्रभाव पार्छ। त्यसैले यो कोठालाई तीनवटै किसिमको लाइटिंग विधिबाट लाइट लगाउनु उचित हुन्छ। यस कोठाको माथिल्लो भागमा एक महादीप(झूमर, Chandelier)राख्नु अझ राम्रो हुन्छ।

 

बैठक कोठा:

बस्न र गफगाफका लागि बनाइएको कोठा, बैठक कोठामा पनि तीनै प्रकारको लाइटहरु हाल्नु उचित हुन्छ। कोठामा भएको ए.सी,पेन्टिंग, चित्र, घडी आदिलाई थप आकर्षक बनाउन यसमा एम्बिएन्ट लाइट र एक्सेंट लाइट जडान गर्न सकिन्छ। यहि कोठामा विभिन्न कामहरु पनि हुने भएकाले यसमा टास्क लाइट चाहिँ छुटाउनु हुदैन।

 

भान्सा:

भान्सा कोठामा मुख्यतः टास्क लाइट मात्रको आवश्यकता पर्छ। अझ भान्सालाई आकर्षक देखाउन मन भएकाले चाहिँ भान्साको उपकरणको नजिकै एम्बिएन्ट लाइट राख्नु उचित हुन्छ। डाइनिंग टेबलको माथि मधुर लाइट भएमा पनि भोजनको समयमा बेग्लै अनुभूति मिल्छ।

 

शयन कक्ष:

शयनकक्ष अर्थात् बेडरूम आनन्दकर हुनु पर्छ। आनन्द अनुभूति तिनै किसिमको लाइटको सही मिश्रणबाट मिल्छ। टास्क लाइटको लागि टेबल लेम्प,एक्सेंट र एम्बिएन् लाइटको लागि भित्तामा र उपकरण वरपर स-साना LED लाइटहरुले शयन कक्षको वातावरण धेरै राम्रो बनाउछ।

 

यसमा तपाईको मत