अटो विशेष

नयाँ व्यवसाय कसरी सुरुवात गर्ने?

    2019-05-27

 

काठमाडाैं- नयाँ व्यवसाय सुरुवात गर्नु अघि नै सबैलाई सबै कुराको ज्ञान नहुन सक्छ। पहिलो अनुभव भएका कारण व्यवसायको योजना बनाउन देखि लाग्ने लगानी जुटाउन, त्यसलाई दर्ता गर्न, कार्यालय स्थापना गर्न र चाहिने मेसिन उपकरणहरू जुटाउन, आवश्यक सीप हासिल गर्न, व्यवसाय सञ्चालन तथा व्यवस्थापन गर्न व्यवसायी आफै पोख्त नहुनु स्वाभाविक हो ।

यस्तो अवस्थामा व्यवसायी एक्लैले सबै समस्याहरू चिर्न सङ्घर्ष गर्नु भन्दा आफ्ना वरिपरि उपलब्ध अवसर, सेवा र सुविधाहरू प्रयोग गर्न हातेमालो गर्दै अघि बढ्ने हो भने सफलता हासिल गर्न अझ सहज हुन सक्छ । 

व्यवसाय सम्बन्धी सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने

आजकल थुप्रै सरकारी तथा गैरसरकारी संस्थाहरूले व्यवसाय सम्बन्धी तालिम, गोष्ठी, कार्यशाला, अन्तरक्रिया कार्यक्रम आदि आयोजना गरिरहेका हुन्छन् । यस्ता कार्यक्रममा सहभागी हुनाले तपाईँलाई कस्तो व्यवसाय गर्दा राम्रो हुन्छ?, बजारमा हाल त्यस्ता व्यवसाय गरिरहेकाहरूको अनुभव कस्तो छ?, त्यस व्यवसाय प्रति सरकारको नीति दृष्टिकोण कस्तो छ?, यस्तो व्यवसाय गर्न कस्तो सिप, क्षमता र स्रोतको आवश्यकता पर्ला भन्ने जस्ता विभिन्न विषयहरूमा जानकारी हासिल हुन्छ। यस्ता कार्यक्रमहरू बारे जानकारी लिन आफ्नो नजिकैको उद्यमशीलता सम्बन्धी काम गर्ने संस्था, वडा कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाहरू, स्थानीय उद्यमी सञ्जालहरूमा सम्पर्क गर्न सकिन्छ।



व्यवस्थापकीय सहयोग लिने

स्थानीय स्तरमा नै थुप्रै त्यस्ता सङ्घ-संस्थाहरू पनि हुन्छन् जसले व्यवसायको लागि योजना बनाउन, व्यवसाय स्थापना गर्न र अगाडी बढाउन मद्दत गर्ने विभिन्न सेवाहरू दिने गर्दछन्। यी सेवाहरूमा  सामान्य सल्लाह दिने देखि, लगानी जुटाउन मद्दत गर्ने, व्यवस्थापनमा सहयोग गर्ने, कर र कानुनी प्रक्रियामा सहज बनाइदिने कामहरू सम्म पर्दछन्। यस्ता कार्यक्रमहरू बारे जानकारी लिन आफ्नो नजिकैको उद्यमशीलता सम्बन्धी काम गर्ने संस्था, वडा कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाहरू, स्थानीय सहकारी संस्थाहरू, विजिनेस इन्कुवेशन सेन्टर वा उद्यमी सञ्जालहरूमा सम्पर्क गर्न सकिन्छ।



विज्ञ र अनुभवीसँग सल्लाह लिने

व्यावसायिक क्षेत्रका विज्ञ र अनुभवीसँग सल्लाह लिनाले व्यवसाय स्थापना र सञ्चालनका प्रक्रियाहरू र अभ्यासहरूका बारेमा धेरै कुराहरू बुझ्न मद्दत पुग्दछ। यस्तो व्यक्ति छनोट गर्दा आफूले गर्न खोजेको व्यवसायको क्षेत्रमा ज्ञान वा अनुभव हासिल गरेको मान्छे छनोट गर्‍यो भने अझ प्रभावकारी हुन्छ। यस्ता व्यक्ति तपाइको वरिपरि नै भेटिन सक्छन् वा हिजोआज फेसबुक लगायतका सामाजिक सञ्जालबाट चिनजान गरेर पनि भेट्टाउन सकिन्छ।

सिपमूलक तालिम लिने

आफूले गर्न खोजेको व्यवसायको क्षेत्रमा स्थानीय स्तरमा आयोजना हुने विभिन्न सिपमूलक तालिमहरूमा सहभागी हुनाले व्यवसायलाई आवश्यक सिप हासिल हुन्छ। यस्ता सिपले आफ्नो व्यवसाय बढाउन र सुधार गर्नका लागि पनि मद्दत गर्न सक्छन्। हिजोआज व्यावसायिक तथा सीप विकास परिषद् (CTEVT), स्थानीय सरकार (वडा कार्यालय, गाउँपालिकाहरू,नगरपालिकाहरू), कृषि मन्त्रालयहरू, श्रम तथा रोजगार मन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय आदि अन्तर्गत यस्ता थुप्रै सिपमूलक तालिमहरू सञ्चालन हुने गरेका छन्।

अनुदान तथा लगानी लिने



स्थानीय स्तरमा विभिन्न गैरसरकारी निकाय वा सरकारबाट पनि साना तथा ठुला अनुदानहरू वितरण भइरहेको हुन्छ। यस्ता अनुदानहरूले व्यवसाय सुरु गर्न, उपकरणहरू किन्न, सरसफाइ तथा सुधार कार्यक्रमहरू गर्नका लागि मद्दत पुर्याउँछन्। विशेष गरेर कृषि तथा पशुपन्छीका क्षेत्रहरूमा यस्ता थुप्रै अनुदानहरूको व्यवस्था गरिएको हुन्छ। हालसालै चर्चामा आएको सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान पनि यसको एउटा उदाहरण हो। यसरी सरकारी अनुदानहरूबाट सहयोग लिएर पनि व्यवसाय सञ्चालन गर्न सकिन्छ।

व्यवसायीहरूको सञ्जालसँग जोडिने

उद्योग व्यवसायीहरूको आफ्नै क्लब, सङ्घ,महासङ्घ आदि खुलेका हुन्छन्। यस्तो समूहमा जोडीनाले आफ्नो व्यावसायिक क्षेत्रका साथी-भाइहरूसँग चिनजान हुने र एक आपसमा सल्लाह-सुझाव आदि आदानप्रदान हुने गर्दछ। यसका लागि फेडेरेसन अफ नेपाल कट्टेज एन्ड स्मल इन्डसट्रिज, फेडेरेसन अफ नेपलिज च्याम्बर अफ कमर्स एन्ड इन्डसट्रिज (FNCCI), नेसनल माइक्रो आन्टरप्रेनर्स फेडेरेसन नेपाल (NMEFEN), नेपलिज योङ्ग आन्टरप्रेनर्स फोरम (NYEF), फेडेरेसन अफ वोमेन आन्टरप्रेनर्स असोसीएसन अफ नेपाल (FWEAN)  आदि सञ्जालहरूसँग जोडिन सकिन्छ।

यसमा तपाईको मत