ग्याजेट विशेष

नेपालका लागि बनाइएका चर्चित एन्ड्रोइड एपहरु

  नागरिक   2018-04-08

जिमेल, फेसबुक र युट्युब विश्वभरिमा सबैभन्दा बढी डाउनलोड गरिएका एन्ड्रोइड एपमध्ये पर्छन् । यी एप नेपालमा समेत निकै चर्चित भए पनि केही यस्ता एप प्ले स्टोरमा छन् जो नेपालकै लागि भनेर बनाइएका छन् ।

तीमध्ये, प्ले स्टोरकै फ्री एप्सको २०१७को डिसेम्बरको टप चार्टस् सूची अनुसार यी एपहरु नेपालमा निकै चर्चित छन्:

संगीतको एप शीर्ष स्थानमा

योन्डर म्युजिक एनसेल नम्बर भएका ग्राहकका लागि निःशुल्क संगीत सुन्न बनाइएको एप हो । करिब २ करोड नेपाली तथा अन्तर्राष्ट्रिय संगीतको लाइब्रेरी भएको यस एपमा हरेक विधाका गीत सुन्न पाइन्छ । रजिस्टर गर्न एनसेलको नम्बर र एनसेल मोबाइल डाटा अन हुनुपर्ने यस एपमा आफूलाई मन पर्ने कलाकार र उनीहरुको संगीतलाई फलो गर्न पाइन्छ । त्यसका साथै आफूलाई सुन्न मन पर्ने विधाका गीतको प्लेलिस्टलाई फलो वा आफ्नै प्लेलिस्ट बनाउन पनि सकिन्छ ।

योन्डर म्युजिक – नेपाल

श्रेणी : ३

यस चर्चित संगीत एपको प्लेस्टोरको कमेन्ट सेक्सनमा भएका मुख्य गुनासा यसप्रकार छन्:

  • रजिस्ट्रेसनको प्रक्रिया जटिल: एनसेलको नम्बरबाट मात्र रजिस्ट्रेसन गर्न मिल्ने यस एपको रजिस्ट्रेसन कसरी गर्न सकिन्छ भनेर पत्ता लगाउन पहिलोचोटि एप डाउनलोड गरेका ग्राहकलाई मुस्किल पर्न सक्छ ।
  • दिनदिनै लगइन गर्न झन्झट: रजिस्ट्रेसन भइसकेपछि पनि दिनदिनै एनसेलको मोबाइल डाटा प्रयोग गरेर लगइन गर्नुपर्ने नियम धेरै ग्राहकका लागि असुविधा सरह भएको छ ।
  • नेपाली गीतहरुको कमी: नेपालका लागि बनाइएको एप भए पनि अझै कतिपय पुराना र नयाँ नेपाली गीतहरु यस एपको लाइब्रेरीमा छैनन् ।

 

चलचित्रको मजा मोबाइलमै

एनसेलले संगीतको मात्र नभई आइफ्लिक्स नामको चलचित्र अनलाइन स्ट्रिम गर्न मिल्ने एपसँग सहकार्य गरेर नेपालमा केही महिनाअघि यो एप भित्र्याएको थियो । अन्तर्राष्ट्रिय बजारमा १ करोडभन्दा माथि डाउनलोड गरिएको आइफ्लिक्स एपमा एनसेल सिम प्रयोग गर्ने ग्राहकलाई तीन महिनाको अनलिमिटेड स्ट्रिमिङको अफर गरिएको छ । तीन महिनाको अफर समाप्त भएपछि एक घन्टा चलचित्र स्ट्रिम गर्न एनसेल डाटा प्याकेजमा ५० रुपैयाँ तिर्नुपर्नेछ । लाखौं अन्तर्राष्ट्रिय चलचित्र र टेलिसिरिजहरु भएको यस एपमा नेपाली चलचित्र हेर्न भने ग्राहकले अझै पर्खिनुपर्नेछ ।

आइफ्लिक्स

श्रेणी: ८

नेपालमा भर्खरै भित्रिएको यस एपमा ग्राहकले केही सुधार्नुपर्ने सुझाव दिएका छन्:

  • अननोन एरर: फिल्म हेर्दाहेर्दै बीचमा रोकिएर अननोन एरर देखाउने समस्या धेरै ग्राहकको फोनमा आएको कुरा कमेन्ट सेक्सनमा देखिन्छ ।
  • फरवार्ड वा रिवाइन्ड गर्न मुस्किल: यो एपमा फिल्म हेर्दा पछाडि वा अगाडि जान कठिन भएको गुनासो धेरैले गरेका छन्। 

 

नेपाली टाइप गर्ने किबोर्ड एप

सबै नेपालीलाई मोबाइलमा नेपालीमा टाइप गर्ने आवश्यकता कुनै न कुनै बेलामा पर्न सक्छ । हाम्रो नेपाली किबोर्ड प्रयोग गरेर कुनै पनि एपमा कपी–पेस्टबिना सिधै नेपाली भाषामा टाइप गर्न सकिन्छ भन्ने दावा हाम्रो नेपाली किबोर्डले गर्छ । हाम्रो नेपाली किबोर्ड प्रयोग गरेर अंग्रेजी अक्षरमा नेपाली शब्द टाइप गरेर नेपाली शब्दमा परिवर्तन गर्न सकिन्छ (जस्तै ‘नजबच’ शब्द टाइप गरेर नेपालीमा ‘घर’ आउँछ) वा नेपाली अक्षरहरुमै पनि टाइप गर्न सकिन्छ ।

हाम्रो नेपाली किबोर्ड जस्तै नेपाली किबोर्ड र टाइप नेपाली नामका अरु एप पनि प्लेस्टोरमा भेटिन्छन् । तर टाइप गर्दा अक्षर भेट्न कठिन हुने वा सोझै अरु एपमा नेपालीमा टाइप गर्न नमिल्ने जस्ता गुनासाले गर्दा ती एपहरु हाम्रो नेपाली किबोर्ड जत्तिको चर्चामा नआएका हुन सक्छन् ।

 

हाम्रो नेपाली किबोर्ड

श्रेणी:१९

 

चर्चित भए पनि हाम्रो नेपाली किबोर्ड एपका प्रयोगकर्ताका केही गुनासा भने नभएका चाहिँ होइनन्:

  • अपर्याप्त एमोजीहरु: च्याट गर्ने नेपालीले नेपालीमा टाइप मात्र नभई थरिथरिका एमोजीको प्रयोग पनि गर्न पाइयोस् भन्ने इच्छा राख्छन् । हाम्रो नेपाली किबोर्डमा यस्ता इमोजीहरु पर्याप्त भएनन् भन्ने गुनासो प्लेस्टोरको कमेन्ट सेक्सनमा धेरै ग्राहकले गरेका छन् ।
  • अटोकरेक्टमा गडबडी: टाइप गर्दा गलत भएका शब्दलाई सच्याउनुपर्ने अटोकरेक्ट फिचरले कयौंपल्ट सही शब्द नछान्दा शब्दको भिन्नै अर्थ लाग्ने हुनाले समस्या आउने गर्छ ।

 

भित्ते पात्रो हातमा

नेपाली क्यालेन्डरको एपमध्ये सबैभन्दा चर्चित हाम्रो पात्रो र नेपाली पात्रो हुन् । हाम्रो नेपाली किबोर्ड बनाउने समूहले निकालेको हाम्रो पात्रो एप श्रेणी २२ मा छ भने नेपाली पात्रो एप श्रेणी २७ मा छ । दुवै पात्रोका एपहरु सुरुमा आउँदा नेपाली भित्तेपात्रोको एप संस्करण भएर सुरु भए पनि पछि आएर विनिमय दर देखाउने, मिति रुपान्तरण गर्ने, राशिफल देखाउने, समाचारका अंशहरु देखाउने जस्ता कयौं फिचरहरु यी एपमा जोडिए ।

हाम्रो पात्रो  श्रेणी :२२

नेपाली पात्रो श्रेणी :२७

समसामयिक हुन परिमार्जित भइरहने यी एपका थोरै गुनासा यस्ता छन्:

हाम्रो पात्रोको कुण्डलिनीमा समस्या: हाम्रो पात्रोले कुण्डलिनीको फिचर ल्याएको छ तर त्यसमा गणनामा गल्ती हुने र कतिवटा ठाउँहरु समावेश नभएको गुनासो धेरै ग्राहकले गरेका छन् ।

नेपाली पात्रोमा अन्तर्राष्ट्रिय घडीको कमी : नेपाली पात्रो एपको घडी नेपाली समय क्षेत्रअनुसार चल्ने बनाइएको छ । हामीले नेपालमा नै बसेर कुनै अरु समय क्षेत्र अनुसार घडी मिलाउन नमिल्ने गुनासो धेरैमा भेटियो ।

 

 

बोर्डगेमको एप

नेपालमा निकै लोकप्रिय बोर्डगेममा लुडो एक हुन सक्छ । त्यही बोर्डगेमलाई लुडो नियो–क्लासिक नामको एपमा परिवर्तन गरेर जीवन श्रेष्ठले धेरै नेपालीलाई मनोरन्जन दिएका छन् । लुडो प्रो नामको उही नियम भएको लुडोको अर्को एप पनि प्लेस्टोरमा छ । तर नेपाली ग्राहकले नियो–क्लासिक नै रुचाएको देखिन्छ ।

लुडो नियो–क्लासिक

श्रेणी : २८

यसको समीक्षा हेर्दा देखिएका गुनासा यसप्रकार छन् :

  • गट्टीमा आउने अंकको पूर्वअनुमान: खेल्दा कुन अंक आउँछ भनेर पूर्वअनुमान गर्न सकिने भनेर धेरै ग्राहकले कमेन्ट सेक्सनमा गुनासो पोखेका छन् । यसो गर्दा खेलको मजा बिग्रिने हुनाले यो समस्या हटाउन धेरैले अनुरोध गरेको पाइयो ।
  • अनलाइन खेल्न नमिल्ने: साथीभाइसँग यो खेल आ–आफ्नै घरमा बस्दा पनि अनलाइन खेल्ने सुविधा भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने धारणा कयौं ग्राहकले व्यक्त गरेका छन् ।

 

स्टाटस अपडेट गर्न सोच्नै नपर्ने

फेसबुक वा ट्विटर स्टाटस अपडेट गर्दा अद्वितीय विचार व्यक्त गर्ने चलन धेरै चर्चित भएको कुरा फेसबुक र ट्विटर जस्ता एपको न्युजफिडमा प्रस्ट देख्न पाइन्छ । यही चलनलाई आगो दिने एपमध्ये अहिले गुगल प्लेस्टोरको सूचीमा निकै माथि चढेको एप मन छुने लाइनहरु पनि हो । यस एपमा विभिन्न मार्मिक, दार्शनिक विचार, हाँस्य चुटकिला र मायाप्रेमका मुक्तकहरु प्रशस्त संख्यामा पाइन्छ र यहाँबाट कपी गरेर आफूलाई योग्य लाग्ने ठाउँमा पेस्ट गर्न सकिन्छ । यति मात्र नभई दसैं, तिहार र नयाँ वर्षजस्ता अवसरमा आफ्ना परिवार र प्रियजनलाई शुभकामनाको सन्देश पठाउन पनि यस एपको प्रयोग गर्न सकिन्छ भनेर एपको परिचयको खण्डमा लेखिएको छ ।

मन छुने लाइनहरु

श्रेणी: ३१

यस नयाँ एपको समिक्षा सेक्सनमा भएको गुनासो:

  • अफलाइन मोड नभएकोस् यस एपलाई अनलाइन भए मात्र चलाउन मिल्ने भएकाले ग्राहकहरुले यस एपलाइ अफलाइन पनि उपलब्ध गराइदिनुहुन एपका निर्माताहरुसँग आग्रह गरेका छन् ।

 

टप ५० का अरु केही एप:

गुगल प्लेस्टोरको फ्री एप्स टप चार्टस् श्रेणीमा टप ५० भित्र परेका नेपालकै लागि बनाइएका अरु केही एप यसप्रकार छन्:

  • दराज – घरमै बसेर सामान खरिद गर्न सकिने एप
  • ३० दिनमा अंग्रेजी फरर – नेपालीमा अनुवाद गरिएका शब्दले अंग्रेजी भाषा सिक्न सजिलो बनाउने एप
  • एनटिसी एनसेल स्क्यान टु रिचार्ज– रिचार्ज कार्डको तस्बिर स्क्यान गरेर रिचार्ज गर्ने एप

यसमा तपाईको मत