अटो विशेष

यात्रा सहज बनाउने नेपाली एपहरु

  नागरिक   2018-04-09

काठमाडौंको जाम र सार्वजनिक यातायातको अवस्था र अनियमितताले तपाईंलाई प्रत्यक्ष असर गरेको छ । यही ट्राफिक र सार्वजनिक यातायातको समस्याले गर्दा तपाईंले जाममा र गाडीको खोजीमा बढी समय खेर फाल्नु परिरहेको हुन्छ । यस्तै समस्याको समाधान गर्न विभिन्न नेपाली मोबाइल अटो एपहरु नेपाल कै लागि भनेर बनाइएका छन् । तल यस्ता ८ वटा एप र तिनको विशेषताको जानकारी दिइएको छ ।

‘लिफ्ट कल्चर’को अभिनव कार्यान्वयन

नेपालमा हालसालै भित्रिएको ‘लिफ्ट कल्चर’लाई व्यवसायमा रुपान्तरण गर्न टुटल एप स्थापना भएको हो । यो एपमार्फत तपाईंले नजिकै भएका अन्य टुटल प्रयोगकर्तालाई मोटरसाइकलमा स–शुल्क लिफ्ट दिन र टुटल प्रयोगकर्ताबाट स–शुल्क लिफ्ट लिन सक्नुहुन्छ । यसका लागि दुवै सेवा दिने चालक र सेवा लिने यात्रुले टुटलमा दर्ता गरेको हुनुपर्नेछ ।

एपबाट तपाईंले नजिकको टुटल प्रयोगकर्ताको खोजी, लिंग र तपाइको चालकसँग भएको दूरीको आधारमा चालक चयन गरेर अनुरोध पठाउन र सेवा बुक गर्न सक्नुहुन्छ । बुक गर्ने बेला मै यात्रा शुल्क हेर्न र सेवा चाहिएको समय तोक्न सकिन्छ । समय र भुक्तानी विधि निश्चित गरेर Book Ride बटनमा क्लिक गरिसकेपछि तपाईंले मोटरसाइकलको नाम र नम्बर हेर्न सक्नुहुन्छ । चालक १०–१५ मिनेटभित्रै तपाईं भएको ठाउँमा आउने छन् र तपाईंको यात्रा आरम्भ हुनेछ । यात्रा सकिएपछि चालकलाई रेट  गर्न र चालकले यात्रामा लिएको रुट हेर्न पनि मिल्छ ।

टुटल

बिशेषताहरुः

  • लाग्ने भाडा दर अगाडि नै थाहा पाउन सकिने
  • ट्याक्सीभन्दा सस्तो
  • अग्रिम बुकिङको सुविधा
  • लिंगको आधारमा चालक चयन गर्न सकिने
  • सजिलो भुक्तानी विधि​

​प्रयोगकर्ताका समीक्षा र गुनासा यसप्रकार छन् :

  • यो सेवा बिहान ८ देखि बेलुका ८ बजे सम्ममात्र उपलब्ध छ । यसर्थ रातिमा आइपर्न सक्ने आपतकालीन समस्याका लागि, बिहान कलेज हिड्नपर्ने विद्यार्थी आदि र रातिसम्म काम गर्नुपर्नेका लागि यो सेवा काम लाग्दैन
  • टुटल हालको लागि काठमाडौँ उपत्यकाको ३ जिल्ला–– काठमाडौं, ललितपुर र भक्तपुर––मा मात्र उपलब्ध छ 
  • दिनकै बढिरहेको मोटरसाइकल दुर्घटनाले गर्दा यो सेवाको सुरक्षामाथि प्रश्न उठाउँछ

 

नेपाल कै पहिलो अनलाइन ट्याक्सी सेवा

नेपाल कै पहिलो अनलाइन ट्याक्सी सेवा रहेको एडडी क्याब यात्रुलाई बुक गरेको १५–३० मिनेटभित्र सेवा दिने र यात्रुलाई सुरक्षित र सुलभ दरमा २४सै घन्टा ट्याक्सी सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हो ।

गुगल प्ले स्टोरमा र एप्पलको एप स्टोरमा निःशुल्क उपलब्ध रहेको यस एपमार्फत तपाईंले तपाईंको स्थान मै जुनसुकै समयमा पनि ट्याक्सी बोलाउन सक्नुहुन्छ । एप डाउनलोड गरेर  तपाईंले उपलब्ध सवारीचालकबाट नजिक पर्ने रुट चयन गर्न सक्नु हुनेछ र ट्याक्सी अनुरोध गर्न सक्नु हुनेछ । ट्याक्सी बुक गरेपछि तपाईंलाई लिन ट्याक्सी तपाईंकै ठाउँमा आइपुग्छ । आपतकालीन अवस्थामा इमर्जेन्सी अलर्ट  उठाउन पनि सकिन्छ । यात्रा सकिएपछि ट्याक्सी चालकलाई रेट  गर्ने सुविधा पनि छ ।

 

एडडी क्याब

विशेषताहरुः

  • जुनसुकै स्थानमा ट्याक्सी बोलाउन सकिने

  • २४सै घन्टा  ट्याक्सी सुविधा
  • आपतकालीन अवस्थाका लागि इमर्जेन्सी अलर्ट
  • पूर्वनिर्धारित भाडा दर

प्रयोगकर्ताको समीक्षा र गुनासो यसप्रकार छन् : 

  • दर्ता प्रक्रियामा समस्या देखिने गरेको छ, दर्ता हुन धेरै समय लाग्ने कि त दर्ता नै नहुने समस्या  
  • अन्य ट्याक्सी सेवाभन्दा महँगो रहेको,आफैं गएर बुक गर्ने ट्याक्सीभन्दा यो केही हदसम्म महँगो  
  • ग्राहकप्रतिको सेवा सन्तोषजनक नरहेको 

 

सबैभन्दा सहज र झन्झटरहित लामो दूरीको बस टिकट बुकिङ सेवा

नेपालको प्रायः सबै ठाउँमा यात्रा गर्नका लागि बसकै आवश्यकता पर्छ । अचेल यात्रा गर्ने व्यक्तिको संख्या वृद्धिसँगै नेपालमा सुविधासम्पन्न डिलक्स बसहरुको माग पनि बढिरहेको छ । ट्रावेल नेपाल बस एपबाट भने तपाईंले नेपालभरि कै लागि डिलक्स बसहरु घरमै बसीबसी भेट्न सक्नुहुन्छ । यस एपले बस यात्रुलाई झन्झटरहित र सहज ढंगले बसको टिकट बुक गर्ने सुविधा प्रदान गर्दछ ।

एप डाउनलोड गरी चढ्ने स्थान र पुग्नुपर्ने गन्तव्यको नाम र जानुपर्ने मिति लेखी सर्च गरेर उपलब्ध गाडीको सूची हेर्न सकिन्छ । ती गाडीहरुमध्ये आफूलाई मनपरेको गाडि रोजेर सो गाडीमा टिकट आरक्षित गर्न सकिन्छ । यसमा पनि इ- सेवा बाट रकम भुक्तानी गर्न मिल्ने सुविधा छ । यो एप गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध छ ।

ट्रावेल नेपाल बस

विशेषताहरु

  • विभिन्न बस सञ्चालकबाट सञ्चालित बसको टिकट अनलाइन बुक गर्न सकिने 
  • मन परेको बसमा मन परेको सिट रोज्न मिल्ने 
  • बस छुट्ने स्थान, उपलब्ध सुविधा र बसको प्रकारको आधारमा बसको सिट बुक गर्न सकिने
  • टिकटको रकम अनलाइनबाटै भुक्तानी गर्न सकिने 
  • विभिन्न बसको शुल्क तुलना गर्न सकिने

 

सुलभ र द्रुत अनलाइन ट्याक्सी सेवा

ओन्वेर पनि यात्रुलाई सुलभ, द्रुत र झन्झटरहित तरिकाले २४सै घन्टा अनलाइन ट्याक्सी सेवा प्रदान गर्ने र काठमाडौंको धुलाम्य सडकमा उभिएर ट्याक्सीको प्रतीक्षा गर्ने चलन हटाउने सोचका साथ बनाइएको अनलाइन ट्याक्सी बुकिङ गर्ने एप हो । यो एपबाट जुनसुकै समयमा र जुनसुकै स्थानमा ट्याक्सी बोलाउन सकिन्छ।

यो एपले GPS को सहायताबाट यात्रुको हालको स्थान पत्ता लगाई उसको नजिकै पर्ने ट्याक्सी खोज्छ र भेटिएपछि यात्रुले आफ्नो गन्तव्य ठेगाना एपमा प्रविष्ट गर्नुपर्छ । यसै क्रममा अनुमानित भाडा दर र सवारीको समयबारे जानकारी पनि पाइन्छ। यात्रुले बुकिङ सुनिश्चित गरेको केही बेरमै ट्याक्सी यात्रु भएको ठाउँमा आइपुग्छ। यो एप गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध छ।

 

ओन्वेर​

विशेषताहरु

  • सुरक्षित र ट्र्याक गर्न सकिने ट्याक्सी बुक गर्न सकिने
  • ट्याक्सी बुक गर्नुअघि नै अनुमानित भाडा दर थाहा पाउन सकिने
  • बुक गरेपछि ट्याक्सी चालकको विभिन्न जानकारी पाउन सकिने
  • ट्याक्सी चालकलाई रेट गर्न मिल्ने 

प्रयोगकर्ताको समीक्षा र गुनासा

  • अकाउन्ट दर्ता गर्न धेरै समय लाग्ने, कि त दर्ता नै नहुने किसिमको समस्या
  • ट्याक्सी भेट्न धेरै समय लाग्ने, कि त ट्याक्सी भेटिँदै नभेटिने समस्या 
  • एप चलाउँदा स्लो हुने र UI नराम्रो भएको गुनासो छ

 

व्यक्तिगत सिटी गाइड

कुनै नयाँ ठाउँ जानु परेमा र कुन बस चढ्ने थाहा नभएमा वा कुनै संस्था, अस्पताल वा अन्य कुनै स्थानको नाममात्र थाहा भएमा तपाईं यातायात नेपाल को गज्जबको एप प्रयोग गरेर आफ्नो गन्तव्यसम्म पुग्न सक्नुहुन्छ । अर्थात, सहरमा नयाँ हुनुहुन्छ भने यातायात नेपाल तपाईंले आजै डाउनलोड गर्नुपर्ने एप हो ।

यस एपले तपाईंलाई सार्वजनिक यातायातको रुटबारे जानकारी दिन्छ । कुनै एक ठाउँबाट अर्को ठाउँमा पुग्न कुन रुटको बस चढ्नु पर्छ भन्ने कुराको जानकारी यो एपबाट पाइन्छ । यसका साथै कुनै संस्था, अस्पताल, स्कुल आदि कहाँ छ र उक्त स्थान पुग्न कुन रुटको बस लिनुपर्छ भनेर पनि थाहा पाउन सकिन्छ । यो एपले तपाईंलाई व्यक्तिगत सिटी गाइडले जस्तै सहरमा हराउन दिँदैन । यो एप गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध छ ।

 

यातायात नेपाल​

विशेषताहरु

  • सार्वजनिक यातायातको रुटको जानकारी
  • एक ठाउँबाट अर्को ठाउँमा जान सबैभन्दा छोटो बाटो पत्ता लगाउन सकिने
  • स्थानहरु नक्सामा खोज्न र भेट्न सकिने

प्रयोगकर्ताको समीक्षा र गुनासा

  • काठमाडौंको यातायात रुटमात्र उपलब्ध अर्थात काठमाडौंबाहिरको कुनै सहरमा यो एप काम लाग्दैन

 

साझा बसमा यात्रा गर्ने यात्रुको स्मार्टफोनमा हुनैपर्ने एप

उचित सार्वजनिक यातायात सञ्जालबिनाको सहरी जीवन कठिन हुनु निश्चित छ । काठमाडौंको सबैभन्दा व्यवस्थित यातायात सञ्जाल हो– साझा यातायात र मेरो साझा यही साझा बस ट्र्याक गर्न बनाइएको एप हो ।

यस एपबाट तपाईंले साझा बसको हालको स्थान रिअल टाइम अर्थात् वास्तविक समयमा हेर्न सक्नुहुन्छ र तपार्इंबाट सबैभन्दा नजिक पर्ने साझा बसबारे जानकारी पनि पाउन सक्नुहुन्छ । यसका साथ साथै तपाईंले आफ्नो गन्तव्य स्थान सेट गर्न सक्नुहुन्छ र उक्त सेट गरेको गन्तव्य स्थानमा बस पुगेपछि यस एपले तपाईंलाई अलर्ट पनि दिन्छ । साझा बसमा भएको GPS ले यो सबै सम्भव गराएको हो ।
 
गुगलको प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने यो एप दैनिक रुपमा साझा बसमा यात्रा गर्नुपर्ने यात्रुको लागि साह्रै महत्वपूर्ण साबित हुन्छ । किनकि यो एप प्रयोग गरेर तपाईंले फेरि कहिल्यै पनि बस छुट्ने र आफ्नो गन्तव्यबाट टाढा पुग्ने कुराको चिन्ता लिनु पर्दैन ।

 

मेरो साझा

विशेषताहरु 

  • साझा बसको सही आगमन र प्रस्थान समय देखाउने
  • साझा बसको तत्काल स्थान वास्तविक समयमा देखाउने
  • सूचना अलर्टको सुविधा

प्रयोगकर्ताका समीक्षा र गुनासा 

  • साझा बसको स्थान ढिलो ट्र्याक गर्ने समस्या । एपमा देखाएभन्दा चाँडो बस स्टेसनमा आइपुग्छ, जसले गर्दा कहिलेकाहिँ बस छुट्न सक्छ
  • अनुमानित आगमन समय नदेखाउने भएकाले बस तपाईंको स्टेसनमा आइपुग्न अझै कति समय लाग्छ थाहा हुदैन 

 

ऑल इन ओन ट्राफिक एप

सहज र सुरक्षित आवागमनको लागि सडक प्रयोगकर्तालाई ट्राफिकसम्बन्धी विविध सूचना सरल रुपमा प्रदान गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक पुलिस नेपाल एप बनाएको हो । 

गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गरेर तपाईंले यस एपबाट कहाँ कहाँ जाम छ भन्ने कुराको, दुर्घटनाको समाचारको, जरिवानाको, आपतकालीन नम्बरहरुको र चालक अनुमतिपत्रको परीक्षाको प्रश्नपत्रबारे जानकारी पाउन सक्नुहुन्छ । तपाईंले ट्राफिक पुलिस कार्यालयमा दुर्घटनाबारे सिधै जानकारी दिन पनि सक्नुहुन्छ । यस एपबाट ट्राफिक  ९५.६ FM सिधै सुन्न सकिन्छ ।

सधैं बिहान काममा गएर बेलुका फर्कनुपर्ने मानिसका लागि यो एपमा उपलब्ध जामको जानकारी दिने र लाइसेन्स निकाल्न खोजिरहेका मानिसका लागि अनुमतिपत्र परीक्षाको प्रश्नपत्रबारे जानकारी दिने सुविधा महत्वपूर्ण हुन्छ ।

 

ट्राफिक पुलिस नेपाल

विशेषताहरु 

  • ट्राफिक जाम कहाँ कहाँ छ थाहा पाउन सकिने
  • ट्राफिक जरिवानाको जानकारी
  • आपतकालीन नम्बरहरु उपलब्ध
  • चालक अनुमतिपत्रको परीक्षाको प्रश्नपत्रसम्बन्धी जानकारी
  • एपबाटै ९५.६ FM रेडियो सुन्न सकिने

प्रयोगकर्ताका समीक्षा र गुनासा 

  • कुनै स्थान ट्रयाक गर्नका लागि GPS को प्रयोग नहुने भएकाले ट्र्याक हुन केही समय लाग्छ
  • एप प्रयोग गर्नमा स्लो हुने र लोडिङ मात्र हुने समस्या देखापरेको छ

 

तपाईंको यात्राको सहयात्री

तपाईंको व्यक्तिगत सहयात्री बन्न सक्ने यस एपबाट तपाईंले काठमाडौंको एक स्थानबाट अर्को स्थानमा जानका लागि कुन रुटको बस चढ्नु पर्छ भन्ने कुराको जानकारी इन्टरनेटबिना नै प्रदान गर्छ । यो एपमा यात्रामा लाग्ने गाडी भाडा, हालको स्थान र पुग्नुपर्ने गन्तव्यबीचको दूरीको र सोही रुटमा पर्ने स्टेसनबारे पनि जानकारी उपलब्ध छ ।

यस एपमा विद्यार्थी र वृद्घले पाउने छुटको हिसाब गर्न Discount Calculator र आपतकालीन नम्बर पनि समावेश गरिएको छ । गुगलको प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने यस एपले तपाईंलाई नयाँ ठाउँमा यात्रा गर्न धेरै सहयोग गर्छ ।

 

गन्तब्य प्लस

विशेषताहरु

  • इन्टरनेट बिना नै सार्वजनिक यातायात रुटको जानकारी
  • गाडी भाडा, दूरी र स्टेसनको जानकारी
  • आपतकालीन नम्बरहरु समावेश
  • छुट क्यालकुलेटर भएको

प्रयोगकर्ताका समीक्षा र गुनासा 

  • नयाँ रुटहरु समावेश नगरिएको, जसले गर्दा कुनै कुनै ठाउँ पुग्नका लागि समस्या हुन सक्छ

यी एपमध्ये तपाईंले कुन एप प्रयोग गर्दै हुनुहुन्छ ? यी एपहरुले तपाईंको कस्तो कस्तो यात्रा सम्बन्धी समस्या समाधान गर्ला त ? यी बाहेक तपाईंलाई अरु कुनै यात्रा सहज बनाउने एपबारे थाहा छ ? टिप्पणी गर्न नभुल्नुहोला ।

यसमा तपाईको मत