ग्याजेट विशेष

फ्रि VPN प्रयोग गर्नुका जोखिमहरू

  नागरिक   2020-03-10

भीपीएनको अर्थ हो भर्चुअल प्राइभेट नेटवर्क जसबाट इन्टरनेट प्रयोगकर्ताले सुरक्षित रूपमा इन्टरनेटको माध्यमबाट डेटा पठाउन र पाउन सक्नेछन् ।  नेपाल मै बसेर भीपीएनको माध्यमबाट प्रयोगकर्ताले कुनै अर्कै देशमा भए जसरी इन्टरनेट प्रयोग गर्न सक्नेछन् । यसै कारणले गर्दा नै इन्टरनेटमा प्रतिबन्धित वेबसाइट र सेवाको पहुँच र प्रयोगका लागि भनेर भीपीएनको प्रयोग गरिएको भेटिन्छ । इन्टरनेटमा आफ्नो गोपनीयतालाई सुरक्षित राख्नका निम्ति प्रयोग गरिने भीपीएनले नै प्रयोगकर्ताको गोपनीयता हनन गरेको भेटिएको छ। 


नेपालमा अधिकांश प्रयोगकर्ताले फ्री अर्थात् निःशुल्क भीपीएन कै प्रयोग गर्दछन । यस्ता भीपीएनहरुले एपमा प्रचार अर्थात् एड देखाउने गरेको भेटिन्छ । र, प्रयोगकर्ताको डेटाको दुरुपयोग गर्ने र गोपनीयताको हनन गर्नेमा फ्री भीपीएनहरु नै रहेका छन् । 


एन्ड्रोइड र आइफोनको प्ले स्टोर र एप स्टोरमा सयभन्दा बढी निःशुल्कमा डाउनलोड र प्रयोग गर्न सकिने भीपीएनहरु भेटिन्छन् । तर कुन भीपीएन डाउनलोड गर्ने र प्रयोग गर्ने भन्ने कुरामा चाहिँ निकै धेरै सतर्कता अपनाउनु पर्ने हुन्छ । 


एन्ड्रोइड र आइफोनमा उपलब्ध हुने ८४ प्रतिशत भीपीएनले प्रयोगकर्ताको आइपी ठेगाना लिक गरेको भेटिएको छ भने, ८२ प्रतिशतले प्रयोगकर्ताको संवेदनशील डेटामा अनधिकृत पहुँच लीन खोजेको भेटिएको छ । ७५ प्रतिशत नि: शुल्कमा उपलब्ध हुने भीपीएनले  तेस्रो पक्षीय सेवामा प्रयोगकर्ताको जानकारी बेचेको पनि भेटिएको छ । यति मात्र नभएर ३८ प्रतिशत भीपीएनले प्रयोगकर्ताको मोबाइलमा भाइरस पनि हाल्ने गरेको भेटिएको छ भने १८ प्रतिशतले भने प्रयोगकर्ताको डेटा इन्कृप्ट पनि गर्दैनन् । इन्कृप्ट नगरेको डेटालाई प्रयोगकर्ता र सेवा प्रदायकको बीचमा रहने जसले पनि सजिलैसँग अवलोकन गर्न सक्छ । 


कुनै कुनै भीपीएन साबिकमा भीपीएन नै होइनन् । भीपीएनको नाम दिएर मात्र राखिएका र डेटा चोरी गर्नका लागि मात्र बनेका भीपीएन पनि एप स्टोर र प्ले स्टोरमा उपलब्ध छन् । यस्ता भीपीएन एपको न त कुनै सर्भर हुन्छ, न त सफ्टवेयर र न त “भीपीएन” नै । उदाहरणका लागि: माइसेफभीपीएन नाम गरेको एप भीपीएन नै थिएन । उक्त एपले प्रयोगकर्ताको डेटा चोरी मात्र गर्यो र कतिपय प्रयोगकर्तालाई पैसा तिर्न पनि लगायो । 


तर यस्तो डेटाको लिक र दुरुपयोग गर्नेमा नि: शुल्क भीपीएन मात्र नभएर पैसा तिरेर खरिद गर्नुपर्ने भीपीएनहरु पनि छन् । ओके भीपीएन, ईजी भीपीएन, एसफ्लाई भीपीएन र फास्ट सेक्युर पेमेन्ट भीपीएन यसका उदाहरणहरू हुन् । प्लेस्टोरमा एकैजस्ता देखिने र असुरक्षित नि: शुल्क भीपीएनको बाढी आएको छ ।

नि: शुल्क र प्रयोगकर्ताको डेटा दुरुपयोग गर्ने भीपीएनहरुको सूचीमा यी नाम गरेका भीपीएन परेका छन्:


क.    भीपीएन मास्टर 
ख.    ओपेरा ब्राउजर भित्रको भीपीएन 
ग.    प्युर भीपीएन 
घ.    गो भीपीएन 
ङ.    टर्बो भीपीएन 
च.    हटस्पट शिल्ड 
छ.    आर्कि भीपीएन 
ज.    बेटरनेट 

 

माथि उल्लेखित नामहरु बाहेक पनि थुप्रै डेटा चोरी गर्ने र मालवेयर भाइरस भएको भीपीएनहरु उपलब्ध छन् – प्रयोगकर्ताले निकै बढी सतर्कता अपनाउनु पर्ने हुन्छ । 

 

सुरक्षित कसरी हुने ?

सबैभन्दा प्रथम त नि: शुल्कको भीपीएन प्रयोग नगर्नू नै उचित हुन्छ । राम्रो र भरपर्दो सेवा प्रदान गर्ने भीपीएनहरु सबैलाई प्रयोग गर्न पैसा नै तिर्नु पर्ने हुन्छ । तर यदि नि: शुल्क भीपीएनको प्रयोग गर्नु परेमा चाहिँ भीपीएन प्रयोगको समयमा संवेदनशील कुराहरू प्रयोग नगर्नू उचित हुन्छ । उदाहरणका लागि : पबजी लाइट खेल्नका लागि र प्रतिबन्धित वेबसाइटहरु हेर्नका लागि नि: शुल्क भीपीएन प्रयोग गर्दा केही फरक नपर्ला तर आफ्नो क्रेडिट कार्ड र सामाजिक संजालको जानकारी सम्बन्धी केही पनि गर्नु अगाडी सोच्नुहोला ।

 

सुरक्षित भीपीएन कुन ?

अधिकांश पैसा तिर्नु पर्ने भीपीएनहरु सुरक्षित भएको भेटिएका छन् । यस्ता पैसा तिर्नु पर्ने भीपीएनहरुले केही समयको लागि ट्रायल उपलब्ध गराउँछन् । नि: शुल्क भएर पनि सुरक्षित मानिएको एक भीपीएन हो सफ्टइथर भीपीएन, जुन कम्प्युटरका लागि मात्र उपलब्ध छ । 
सुरक्षित मानिएका भीपीएनहरु यस प्रकारका छन्:
क.    टनलबियर भीपीएन 
ख.    ट्रस्ट.जोन 
ग.    विन्डस्क्राइब 
घ.    एक्सप्रेस भीपीएन 
ङ.    प्राइभेट इन्टरनेट एक्सेस 
 


स्रोत: रिस्टोरप्राइभेसीडटकम / रिसर्च पेपर 

यसमा तपाईको मत