ग्याजेट विशेष

सेकेन्ड ह्याण्ड स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरू

  नागरिक   2019-09-06

नयाँ र धेरै फिचरयुक्त स्मार्टफोन खरिद गर्नुको सट्टा पुरानो र प्रयोग भइसकेको सेकेन्ड ह्याण्ड स्मार्टफोन किन्नु पछाडीको मुख्य कारण हो सस्तो मूल्य । सेकेन्ड ह्याण्ड र प्रयोग भइसकेका स्मार्टफोनहरू खरिद गर्दा तुलनात्मक रुपमा सस्ता हुन्छन । सेकेन्ड ह्याण्ड स्मार्टफोनहरू फेसबुकको मार्केटप्लेस र हाम्रोबजारमा प्रशस्तै पाइने गर्छन । यदि तपाईं पनि सेकेन्ड ह्याण्ड स्मार्टफोन खरिद गरेर केही पैसा बचाउने सोचमा हुनुहुन्छ भने यी कुराहरू ध्यानमा राख्नुहोस् :

१. हालको बजार मूल्य जान्नुहोस्

तपाईंले खरिद गर्न लागेको सेकेन्ड ह्याण्ड स्मार्टफोनको मूल्य कति भनिएको छ र उक्त मूल्यमा कस्तो फिचर भएको नयाँ स्मार्टफोन खरिद गर्न सक्नुहुनेछ भन्ने कुराको बारेमा जानकारी लिनुहोस् । यदि उक्त मूल्यमा नै नयाँ र तपाईंको आवश्यकता पूरा गर्ने स्मार्टफोन खरिद गर्न सक्नुहुन्छ भने सेकेन्ड ह्याण्ड स्मार्टफोन खरिद गर्नुको केही अर्थ छैन । यसै गरेर सोही मोडलको सेकेन्ड ह्याण्ड स्मार्टफोन अन्य बिक्रेताले कति मूल्यमा राखेका छन् भनेर पनि बुझ्नुहोस् ।

२. स्मार्टफोनको अवस्था कस्तो छ बुझ्नुहोस्

तपाईंले खरिद गर्न विचार गरेको सेकेन्ड ह्याण्ड स्मार्टफोनको अवस्था कस्तो छ राम्रोसँग चेकजाँच गर्नुहोस् । क्यामरा, चार्जिंग पोर्ट, स्पिकर, टच आदि जस्ता कुराहरू सहि तरिकाले काम गर्छन् कि गर्दैनन् चेकजाँच गर्नुहोस् । हेर्दामा धेरै कोरिएको, फुटेको र अन्य क्षति भएको स्मार्टफोनहरू खरिद नगर्नु उचित हुन्छ ।

३. सक्कल बिल वा बट्टा भएको स्मार्टफोन मात्र खरिद गर्नुहोस्

तपाईंले खरिद गर्न लागेको स्मार्टफोनको सक्कल बिल वा बट्टा छ या छैन बुझ्नुहोस् । यदि उक्त स्मार्टफोनको सक्कल बिल वा बट्टा बिक्री गर्न खोज्ने व्यक्तिसँग छैन भने स्मार्टफोन खरिद नगर्नुहोस्, सो स्मार्टफोन चोरीको वा भेटाइएको हुनसक्छ । चोरी गरिएको र भेटिएको स्मार्टफोनहरू निरन्तर रुपमा ट्रयाक गरिएका हुन्छन । स्मार्टफोन चोरी भएमा वा हराएमा उजुरी दर्ता गर्नका लागि पनि सक्कल बट्टा र बिलको आवश्यकता पर्ने हुनाले पनि सक्कल बिल वा बट्टा भएको स्मार्टफोन मात्र खरिद गर्नु उचित हुन्छ ।

४. नक्कली र हाइ कपी स्मार्टफोनमा फस्नुहोला, ख्याल गर्नुहोस्

बजारमा महँगा स्मार्टफोनका ओरिजिनल मोडल जस्तै देखिने नक्कली र हाइ कपी स्मार्टफोनहरू पनि पाइन्छन् । यस्ता स्मार्टफोनहरूलाई सक्कली भन्दै खरिद गर्नुहोला, विचार पुर्याउनु होस् । यदी कुनै फ्ल्यागशिप मोडलको स्मार्टफोन निकै कम मूल्यमा राखिएको छ भने पनि त्यो हाइ कपी र नक्कली मोडल हुने सम्भावना रहेको हुन्छ । खरिद गर्ने समयमा स्मार्टफोनलाई राम्रोसँग चेकजाँच गर्नुहोस् ।

५. धेरै पुरानो मोडलहरूबाट टाढा रहनुहोस्

स्मार्टफोनको जगत द्रुत गतिमा विकास हुँदै गएको छ । केही वर्ष अगाडीका फ्ल्याग्शिप स्मार्टफोनहरूभन्दा राम्रा स्मार्टफोनहरू आधाभन्दा कम मूल्यमा अहिले खरिद गर्न सकिन्छ । यही कारणले गर्दा पनि निकै पुरानो र अपडेट नपाउने स्मार्टफोनहरू खरिद गर्नु उचित हुँदैन । पुरानो मोडलहरूको ब्याट्रीको क्षमतामा पनि निकै धेरै गिरावट आएको हुन्छ र धेरै प्रयोगले गर्दा समस्याहरू थपिदै गएका हुन्छन । धेरै पुरानो मोडलहरू खरिद गर्नु नहुनु पछाडीको मुख्य कारण यो पनि रहेको छ ।

 

यसमा तपाईको मत