ग्याजेट विशेष

किन किन्ने स्मार्टवाच? किन नकिन्ने स्मार्टवाच ?

  नागरिक   2020-09-25

स्मार्टवाच अर्थात् स्मार्ट हाते घडी अहिलेको निकै प्रचलित ग्याजेट भएको छ । विश्वभर नै यसको बिक्री बढ्दै गएको छ भने करिब सबै मुख्य स्मार्टफोन निर्माताहरू र केही घडी निर्माताहरूले आफ्नै स्मार्टवाचलाई बजारमा ल्याएका छन् । स्मार्टवाच निर्माण गर्ने कम्पनीहरू मध्ये सबैभन्दा प्रचलित एप्पल रहेको छ भने दोस्रो स्थानमा हुवावे र तेस्रो स्थानमा सामसंग रहेको छ ।

बजारमा लगभग सबै मूल्य दायराका लागि स्मार्टवाचहरू उपलब्ध गराइएको छ । फिचरयुक्त स्मार्टवाचहरूलाई सस्तो पर्दैन । र सस्तो स्मार्टवाचहरूमा फिचर र गुणस्तरको कटौती गरिएको हुन्छ । अनि सबै प्रयोगकर्तालाई स्मार्टवाच आवश्यक पर्छ भन्ने पनि छैन ।

किन किन्ने स्मार्टवाच ?

स्मार्टवाच किन्नुका फाइदाहरू यस प्रकारका रहेका छन् :

१. नोटिफिकेसन

आफ्नो स्मार्टवाचलाई स्मार्टफोनसँग ब्लुटुथ मार्फत जडान गरेपछि स्मार्टफोनमा आएको सबै नोटिफिकेसन र सूचनाहरूलाई स्मार्टवाचबाटै हेर्न र अन्तरक्रिया गर्न मिल्छ । अनावश्यक वा कम महत्वपूर्ण सूचनाहरूलाई सजिलै वेवास्ता गर्न सकिने छ भने महत्वपूर्ण सूचनाको जानकारी पनि चाडै पाइने छ । नोटिफिकेसनले गर्दा गोजी वा कुनै अन्य स्थानमा रहेको स्मार्टफोनलाई अनलक गरेर हेर्नु पनि पर्दैन ।

२. स्वास्थ्य सम्बन्धित फिचरहरू

आजभोलिका स्मार्टवाचहरूमा स्वास्थ्य सम्बन्धित थुप्रै फिचरहरू राखिएको हुन्छ । मुटुको धड्कन नाप्ने, पैदल यात्रा रेकर्ड गर्ने, निद्रा ट्रयाक गर्ने, स्ट्रेस र तनावलाई ट्रयाक गर्ने आदि जस्ता फिचरहरूबाट स्मार्टवाच प्रयोगकर्ताले फाइदा उठाउन सक्नेछन् । तर, यी सबै फिचरहरू निकै सस्तो पर्ने फिटनेस ट्रयाकरमा पनि समावेश गरिएको हुन्छ ।

३. फोन कल उठाउन काट्न सजिलो

स्मार्टवाचबाट कसले कल गरिरहेको छ भनेर हेर्न मिल्छ । कसको कल आएको हो भनेर जान्नका लागि गोजीबाट स्मार्टफोन निकाल्नु पर्दैन । आवश्यक कललाई स्मार्टवाचबाट नै उठाएर ब्लुटुथ इअरफोन मार्फत कुराकानी गर्न सकिने छ । कल उठाउनका साथै स्मार्टवाचबाट सिधै कल गर्न पनि सकिने छ ।

४. यात्रुहरूका लागि निकै उपयोगी

अधिकतम् स्मार्टवाचहरूको भित्र GPS चिप राखिएको हुन्छ जसले गर्दा स्मार्टवाच मै म्याप हेर्न र यात्रा गर्न निकै सजिलो हुन्छ । गाडी चलाएको बेलामा पनि स्मार्टवाचबाट नै जानु पर्ने स्थानको रुट हेर्न सकिनेछ ।

५. स्मार्टफोन कम प्रयोग गर्नु पर्ने

नोटिफिकेसन र कलहरू सबै स्मार्टवाच मै आउने भएपछि स्मार्टफोनको प्रयोग पनि कम गर्नु पर्ने हुन्छ । यसले गरेर स्मार्टफोन चलाइराख्न मन लाग्ने लत पनि छुट्न सक्छ ।

किन नकिन्ने स्मार्टवाच ?

स्मार्टवाचका विभिन्न फाइदाहरू छन् तर त्यति नै धेरै झमेला र झन्झटहरू पनि छन् । त्यस्ता केही झन्झट र बेफाइदाहरू यस प्रकारका रहेका छन् :

१. मूल्य

बजारमा निकै सस्ता देखि महँगा स्मार्टवाचहरू उपलब्ध छन् । नाम नभएका र चाइनिज ब्रान्डका केही स्मार्टवाचहरू निकै सस्तो, लगभग ४-५ हजार नेरुमा, नै खरिद गर्न सकिन्छ । एप्पल, सामसंग र हुवावे जस्ता ब्रान्डेड कम्पनीहरू स्मार्टवाच निकै नै महँगा छन् । एप्पल वाचको सबैभन्दा सस्तो मोडललाई नै नेपाल मा नेरु ६०,००० पर्छ र अन्य कम्पनीको स्मार्टवाचहरू पनि यतिकै महँगा छन् ।

सस्तो स्मार्टवाचमा माथि उल्लेखित अधिकतम् फिचरहरू उपलब्ध गराइएका हुदैनन् । स्मार्टवाचको पूरा फाइदा उठाउनका लागि चर्को मूल्य तिर्नु पर्ने हुन्छ ।

२. फिटनेस ट्रयाकरले नै स्मार्टवाच जतिकै फिचर प्रदान गर्ने

माथि उल्लेख गरिएका सम्पूर्ण स्वास्थ्य सम्बन्धित फिचर र नोटिफिकेसनहरू सस्तो फिटनेस ट्रयाकरले पनि प्रदान गर्छ । यसै गरेर स्मार्टवाचको भन्दा फिटनेस ट्रयाकरको ब्याट्री लाइफ पनि निकै धेरै हुन्छ ।   त्यसैले स्मार्टवाचको सट्टा कम मूल्यमा फिटनेस ट्रयाकर खरिद गर्नु उचित हुन सक्छ ।

३. दिन कै चार्ज गर्नु पर्ने

साधारण हाते घडीलाई कहिल्यै चार्ज गर्नु पर्दैन र ब्याट्री पनि केही वर्षको अन्तरालमा मात्र फेर्नु पर्छ । तर स्मार्टवाचलाई दिन कै चार्ज गर्नु पर्ने हुन्छ । कुनै कुनै स्मार्टवाच दुई दिनभन्दा बढी पनि टिक्न सक्छन ।

४. बिग्रिएको खण्डमा मर्मत गर्न असम्भव वा किने महँगो

स्मार्टवाचहरूमा स्मार्टफोनमा भएको जस्तै डिस्प्ले, प्रोसेसर, र्याम, स्टोरेज र ब्याट्री हुने भएकाले बिग्रिएको खण्डमा मर्मत गर्न निकै महँगो पर्छ । स्मार्टवाचमा भएका कतिपय उपकरणहरुलाई मर्मत गर्न पनि मिल्दैन र बिग्रिएको खण्डमा पूर्ण रूपमा प्रयोगहिन हुन सक्ने सम्भावना रहेको छ ।

 

यसमा तपाईको मत