ग्याजेट विशेष

ट्वीटरमा राजनीतिक प्रचार गर्न नपाइने

  नागरिक   2019-11-01

प्रचलित सामाजिक संजाल ट्वीटरमा अबबाट राजनीतिक प्रचार प्रसार गर्न नपाइने भएको छ । ट्वीटरका मुख्य कार्यकारी अधिकारी ज्याकले एक ट्वीट मार्फत यस प्रतिबन्धलाई सार्वजनिक गरेका हुन् । यो नीतिलाई ज्याकले गत बुधबार सार्वजनिक गरेका थिए । यो प्रतिबन्ध यही वर्षको नोभेम्बर २२ पछि विश्वव्यापी रूपमा लागू गरिने छ र सो समय पश्चात ट्वीटरमा कुनै पनि प्रकारको राजनीतिक प्रचार गर्न पाइने छैन ।

सामाजिक संजाल ट्वीटरले पहिले नै राजनीतिक प्रचार प्रसारका लागि विशेष नियम र नीतिहरू ल्याएको थियो ।

ट्वीटरमा राजनीतिक प्रचारलाई पूर्ण रूपमा रोक्नुको पछाडी के कस्ता कारणहरू छन् भन्ने कुरा ज्याकले थप ट्वीटहरूबाट व्यक्त गरेका छन् । इन्टरनेट र सामाजिक संजालमा राजनीतिक विचारको पहुँच पैसाको आडमा टिक्नु नहुने कुरामा ज्याकले विशेष जोड दिएका छन् ।

ज्याकले गरेका ट्वीटहरूमा फेसबुकको राजनीतिक प्रचार सम्बन्धित नीतिहरूलाई व्यंग गरिएको छ । ट्वीटरको प्रत्यक्ष प्रतिस्पर्धी फेसबुकले राजनीतिक प्रचार सम्बन्धित विषयमा छुट दिएको भन्दै फेसबुक अहिले चौतर्फी आलोचनामा परेको छ ।

यो प्रतिबन्ध कसरी र कुन तरिकाले लागू गरिने छ भन्ने कुरामा ट्वीटरबाट कुनै स्पष्टीकरण आएको छैन । ट्वीटरका अनुसार यस नीतिको विषयमा थप जानकारी यही नोभेम्बर १५ मा प्रदान गरिने छ । नोभेम्बर २२ मा लागू हुने भनिएको यस प्रतिबन्धले डिसेम्बर १२ मा बेलायतमा हुन गइरहेको चुनावमा प्रत्यक्ष असर गर्न सक्ने बताईएको छ ।

ट्वीटरमा अहिले ३३ करोडभन्दा बढी मासिक प्रयोगकर्ताहरू रहेका छन् ।


स्रोत: गार्डीयन

 

यसमा तपाईको मत