घरेलु उपकरण विशेष

वाशिंग मेसिन खरिद गाइड

  नागरिक   2020-06-25

दिन कै जसो कपडा धुनुपर्ने हुन्छ र कपडा धुनु पनि एक झन्झटिलो र समय धेरै लाग्ने काम हो । यहि नियमित तर दिक्कलाग्दो कार्यलाई सहज बनाउनको निम्ति मानिसहरु घरमा वाशिंग मेसिन राख्ने गर्छन । वाशिंग मेसिनको काम सामान्य छ – तपाईको कपडा धुने । वाशिंग मेसिनले सजिलैसंग कम मिहिनेत र समयमा तपाईको लुगाको राम्रो सफाइ गरिदिन्छ । आजभोलि अन्य उपकरणहरु जस्तै वाशिंग मेसिन पनि हरेक घरको आवश्यक उपकरण बनेको छ । वाशिंग मेसिन खरिद गर्दा तलका विभिन्न कुराहरु ख्याल गर्नु पर्ने हुन्छ:

 

वाशिंग मेसिनको किसिम

१. टप लोड

 

टप लोड वाशिंग मेसिनमा कपडाहरुलाई वाशिंग मेसिनको माथि पट्टिबाट हालिन्छ । यो वाशिंग मेसिनको फाइदाहरु:

  • यो फ्रन्ट लोडभन्दा धेरै सस्तो हुन्छ  
  • यसमा फ्रन्ट लोडभन्दा धेरै क्षमता हुन्छ  
  • यो हेर्दामा सरल हुन्छ
  • सबै बटनहरु माथि पट्टि हुने भएकाले ,यो मेसिन बालबच्चाहरुबाट सुरक्षित हुन्छ
  • यसमा कपडा लोड गर्न सजिलो र चाडो हुन्छ

 

२.फ्रन्ट लोड

 

फ्रन्ट लोड वाशिंग मेसिनमा कपडाहरुलाई मेसिनको अगाडी पट्टिको ढोकाबाट हालिन्छ । यो वाशिंग मेसिनको फाइदाहरु:

  • यसले टप लोडले भन्दा पानी कम खपत गर्छ
  • यसमा अतिरिक्त  उपकरणहरु पनि जोड्न मिल्छ  – जस्तै ड्राएर जुन टप लोडमा सम्भव छैन
  • दुईवटा वासर भएको वाशिंग मेसिन फ्रन्ट लोड मात्र हुन्छन, टप लोडमा दुईवटा वासर हुदैन
  • यसले टप लोडलेभन्दा धेरै चाडो र सफा गरेर कपडा धुन्छ
  • बाफबाट कपडा सफा गर्न मिल्ने बिकल्प पनि यसमा हुन्छ  
  • धुलाईको समयमा यिनीहरु शान्त हुन्छन

 

 

वाशिंग मेसिनको साइज :

वाशिंग मेसिन कुन साइजको वा कत्रो खरिद गर्ने भन्ने कुरा दुईवटा कुराले निर्धारण गर्छ – तपाईको परिवार संख्या र बजेट । ठूलो साइज र क्षमता भएको वाशिंग मेसिन महँगो हुन्छ । सानो परिवारको लागि ठूलो वाशिंग मेसिन जरुरि पनि छैन । त्यसैले यी दुई कुरालाई ध्यानमा राखेर वाशिंग मेसिन खरिद गर्नु पर्छ ।  वाशिंग मेसिनको साइज केजीमा मापन गरिन्छ , अर्थात् यसको ड्रमले कति केजीको कपडा एकपटकमा धुनसक्छ भनेर । अटोमेटिक र स्मार्ट फिचर भएका, ड्राएर जडान भएको र दुईवटा वासर भएको वाशिंग मेसिन महँगो हुन्छ ।

क्षमता परिवारको संख्या नेपाली बजार मुल्य (लगभग)
५ - ६ केजी

सानो परिवार

१-२ जना वयस्क

टप लोड: २० देखि ३० हजार

फ्रन्ट लोड: नेरु ३० देखि ४० हजार

७ – ८ केजी

मध्यम परिवार

२-३ जना वयस्क

टप लोड: नेरु ४० हजार देखि ६० हजार

फ्रन्ट लोड: नेरु ६० देखि ७० हजार

९ – १० केजी

ठूलो परिवार

४+ जना वयस्क

टप लोड: नेरु ७० देखि ८० हजार

फ्रन्ट लोड: नेरु १ लाखसम्म वा माथि

 

उर्जा र पानी खपतमा कुशलता:

वाशिंग मेसिन चल्नलाई दुईवटा कुरा अनिवार्य छ – पानी र विद्युत । वाशिंग मेसिनले प्रयोगमा आउदा जति थोरै पानी र विद्युत खपत गर्छ, त्यति नै त्यो वाशिंग मेसिन राम्रो मानिन्छ । इनर्जी स्टार चिन्ह भएको वाशिंग मेसिनको विद्युत खपत इनर्जी स्टार नभएकाको तुलनामा निकै कम हुन्छ ।

फ्रन्ट लोड वाशिंग मेसिनले टप लोड वाशिंग मेसिनको तुलनामा निकै कम पानी प्रयोग गर्छ । यदि तपाई पानीको बचत गर्न चाहनुहुन्छ भने तपाईले फ्रन्ट लोड वाशिंग मेसिन खरिद गर्नु उचित हुन्छ । उच्च - कुशलता भएको टप लोड वाशिंग मेसिन पनि बजारमा उपलब्ध छन् । यो वाशिंग मेसिनले फ्रन्ट लोडले केहि बढी पानी खपत गरे पनि साधारण टप लोडले भन्दा निकै कम पानी खपत गर्छ ।

इनर्जी स्टार वार्षिक उर्जा बचत (% मा)
५ – १० %
★★ १२ - १५ %
★★★ १५ - २० %
★★★★ २० - २५ %
★★★★★ ३० – ३५ %

 

अन्य महत्वपूर्ण फिचरहरु:

१. अटोमेटिक तापक्रम नियन्त्रण गर्न मिल्छ?

अटोमेटिक तापक्रम नियन्त्रण गर्न मिल्ने वाशिंग मेसिनमा हामीले पानी तातो हाल्ने कि चिसो भनेर चिन्ता लिनु पर्दैन । यस्तो वाशिंग मेसिनले स्वतः आवश्यकता अनुसार पानीको तापक्रम बढाउने घटाउने गर्छ ।

२. ड्रायर जडान गरिएको छ?

कतिपय फ्रन्ट लोड वाशिंग मेसिनमा ड्राएर जडान गरिएको हुन्छ र कतिपयमा खरिद पश्चात पनि जडान गर्न मिल्छ । यस्तो वाशिंग मेसिन केहि महँगो भएता पनि धेरै काम लाग्ने हुन्छ । यस्तो मेसिनले कपडाको धुलाइ पछि मेसिनमै कपडालाई सुकाउछ ।

३. मेसिनको टब कुन धातुले बनेको छ?

खिया नलाग्ने स्टिलले बनेको टब भएको वाशिंग मेसिन खरिद गर्नु उचित हुन्छ । यिनीहरु धेरै टिकाउ हुन्छ र सफाइ पनि चाडै गर्न मद्दत पुर्याउछ ।

४. अटोमेटिक डिटर्जेन्ट डिस्पेन्सर छ?

अटोमेटिक डिटर्जेन्ट डिस्पेन्सर भएको वाशिंग मेसिनले ठीक समयमा ठीक मात्रामा डिटर्जेन्टको प्रयोग गर्छ जसबाट डिटर्जेन्टको धेरै बचत हुन्छ ।

५. अटोमेटिक पानीको प्रयोग गर्छ?

वाशिंग मेसिनमा यदि अटोमेटिक पानीको प्रयोग गर्ने फिचर छ भने यसले कपडाको तौलको आधारमा आवश्यक पर्ने पानी मात्र प्रयोग गर्छ जसले गर्दा पानीको धेरै बचत हुन्छ ।

यसमा तपाईको मत