ग्याजेट विशेष

१०८ मेगापिक्सल क्यामरा भएको स्मार्टफोन सार्वजनिक

  नागरिक   2019-11-10

चाइनिज स्मार्टफोन निर्माता साओमीले १०८ मेगापिक्सल क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बिगतका केहि महिनादेखि नै यस स्मार्टफोनको बारेमा साना-साना कुराहरू सार्वजनिक गर्दै आएको थियो । साओमीले १०८ मेगापिक्सल क्यामरा भएको स्मार्टफोन रिलिज गर्ने छ भन्ने कुराको जानकारी पहिले नै भएपनि कहिले र कुन मोडलमा रिलिज गर्ने छ भन्ने कुरा यो सातामा आएर सार्वजनिक भएको छ ।

यस स्मार्टफोनलाई साओमीले मि नोट १० प्रो नाम दिएको छ । चिनमा यो स्मार्टफोन सिसि ९ प्रो का नामले बिक्रि हुनेछ । हेर्दामा २०१९ मा रिलिज भएका अन्य सबै स्मार्टफोनहरू जस्तो देखिए पनि यो स्मार्टफोनमा ५ वटा मुख्य क्यामरा रहेका छन् । पाँचवटा मुख्य क्यामरा राख्ने काममा पनि यो स्मार्टफोन प्रथम भने होइन, साओमीले भन्दा धेरै अगाडी नोकियाले आफ्नो स्मार्टफोनमा पाँचवटा मुख्य क्यामरा राखिसकेको छ । तर १०८ मेगापिक्सलको क्यामरा राखिने यो पहिलो स्मार्टफोन भएको छ ।

पाँचवटा क्यामरा लेन्सहरूमा १०८ मेगापिक्सलको सेन्सर एउटा, ५ मेगापिक्सलको जुम लेन्स, १२ मेगापिक्सलको टेलेफोटो लेन्स, २० मेगापिक्सलको अल्ट्रा वाइड लेन्स र २ मेगापिक्सलको म्याक्रो लेन्स रहेको छ । अगाडी पनि ३२ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ ।

उक्त १०८ मेगापिक्सलको सेन्सरको निर्माता सामसंग रहेको छ । साओमीसँगको साझेदारीमा निर्माण गरिएको यो सेन्सरलाई केही महिना अगाडी नै सार्वजनिक गरिएको थियो । यस सेन्सरको नाम सामसंग आइसोसेल ब्राइट बिएमएक्स रहेको छ ।

यस सेन्सरको साइज १/१.३३ इन्चको रहेको छ जुन पुरानो ४८ मेगापिक्सल रेजोलुसन भएको आइसोसेल ब्राइट जी एम १ ( ISOCELL Bright GM1 ) भन्दा १२५ प्रतिशतले ठूलो हो ।

यस सेन्सरमा १०० मिलियन अर्थात् १० करोड भन्दा धेरै प्रभावकारी पिक्सलहरू हुने कुराको जानकारी  सामसंगले प्रेस रिलिज मार्फत गरेको छ । यस सेन्सरले टेट्रासेल प्रविधिको प्रयोग गर्ने भएकाले उक्त १० करोड पिक्सलहरूबाट एउटा २७ मेगापिक्सलको तस्विर उत्पादन हुनेछ ।

 यस सेन्सरको साइज पनि अन्य भन्दा निकै ठूलो भएको कारणले गर्दा पनि यस सेन्सरले अन्य सेन्सरको तुलनामा राम्रो र उज्यालो तस्विर खिच्न सक्नेछ । यस सेन्सरले अति नै न्यून प्रकाश भएको स्थानमा पनि राम्रो तस्विर खिच्न सकिने दाबी सामसंगले गरेको छ । यसै गरि यो नयाँ सेन्सरमा स्मार्ट आइसो पनि हुनेछ जसले तस्विरको चहक र गुणस्तरलाई सुधार गर्न सहयोग पुर्याउने छ ।

भिडियोको सन्दर्भमा यस सेन्सरले 6k ( ६०१६ x ३३८४ ) रेजोलुसनको भिडियो खिच्न सक्नेछ । तर उक्त भिडियो भने केवल ३० हर्ज अर्थात् ३० FPS मा सिमित हुनेछ । तापनि यो रेजोलुसन स्मार्टफोनको जगतमा सबैभन्दा धेरै हो ।

स्मार्टफोनका अन्य फिचरहरूमा ६.४७ इन्चको डिस्प्ले, स्नापड्रागन ७३०जी प्रोसेसर, ६ जीबी वा ८ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

यसमा तपाईको मत