ग्याजेट विशेष

सायोमीले सोलारबाट चार्ज हुने स्मार्टफोन ल्याउन सक्ने

  नागरिक   2019-08-05

लेट्स गो डिजीटलका अनुसार चाइनिज कम्पनी सायोमीले सोलारबाट चार्ज हुने स्मार्टफोन बजारमा ल्याउन लागेको छ । चाइनिज स्मार्टफोन तथा अन्य उपकरणहरूको निर्माता सायोमीले यस प्रकारको स्मार्टफोनको लागि प्याटेन्ट पनि दर्ता गरिसकेको छ । उक्त वेबसाइटका अनुसार यस स्मार्टफोनको पछाडी सोलार प्यानल हुनेछ जसले घामको सहायताबाट स्मार्टफोनलाई चार्ज गर्नेछ ।

पछाडी रहेको सोलार प्यानल बाहेक अगाडीको भाग पुरै ढाक्ने डिस्प्ले, डिस्प्ले मुनि नै लुकाएर राखिएको सेल्फी क्यामरा र पछाडी दुईवटा क्यामरा भएको कुरा लिक भएको डिजाइनको तस्विरबाट हेर्न सकिन्छ । यसै गरि तस्विरमा फिंगरप्रिन्ट स्क्यानर पनि रहेको छैन जसबाट यस स्मार्टफोनमा पनि डिस्प्ले भित्र नै राखिएको फिंगरप्रिन्ट हुनेछ भन्ने कुरा बुझ्न सकिन्छ । पछाडी सोलार प्यानल राखिएपनि उक्त स्मार्टफोनको मोटाइ भने खासै धेरैले बढेको छैन ।

स्मार्टफोनमा सोलार प्यानल प्रयोग गर्नु कुनै नौलो कुरा भने होइन । सन् २०१० मा एलजीले आफ्नो स्मार्टफोनमा पहिलो पटक सोलार प्यानलको प्रयोग गरेको थियो । उक्त सोलार प्यानलको सहयोगबाट एलजीको स्मार्टफोनले १० मिनटको चार्जबाट २ मिनटसम्म मोबाइल नेटवर्क मार्फत कुरा कानी गर्न मिल्दथ्यो । तर बिगतको एक दशकमा स्मार्टफोनको ब्याट्री क्षमता, सोलार प्यानलको गुणस्तर र समग्रमा ब्याट्री लाइफमा पनि निकै राम्रो सुधार आएको छ ।

सो वेबसाइटका अनुसार हालका लागि यस स्मार्टफोनको सोलार प्यानलले स्मार्टफोनलाई कुन दरमा चार्ज गर्न सक्छ र यस प्यानलको प्रयोगबाट स्मार्टफोनका अन्य के कस्ता कुरामा सम्झौता गर्नु पर्ने हुन्छ भन्ने कुराको केही जानकारी आएको छैन । यस लगायत सो स्मार्टफोनको मूल्य, रिलिज मिती र अन्य जानकारीहरू पनि केही आइसकेको छैन । हालका लागि सायोमीले सोलार प्यानल भएको स्मार्टफोन रिलिज गर्दै छ भन्ने कुराको मात्र जानकारी उपलब्ध छ । सो जानकारी पनि सायोमीले नै दर्ता गरेको प्याटेन्टको सहायताबाट उजागर गर्न सकिएको हो ।

स्रोत: लेट्स गो डिजीटल ( डच भाषामा )

यसमा तपाईको मत