ग्याजेट विशेष

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

  नागरिक   2018-12-14


फेक र स्पाम अकाउन्ट धेरै भएको भन्दै गुगलले त्यस्ता अकाउन्टहरुलाई बन्द गर्न सुरु गर्ने भएको छ । यसरी फेक र स्पाम अकाउन्टहरु हटाउन थालेपछि ठूला देखि साना युट्यूब च्यानलहरुको सब्सक्राइबर घट्न सक्ने सम्भावना रहेको कुरा गुगलले एक आधिकारिक सूचना मार्फत बताएको छ ।

कतिपय युट्यूब च्यानलहरुले स्पाम र फेक अकाउन्टको सहायताले सब्सक्राइबर बढाएको भेटिए पछि यस्तो गर्न लागिएको हो । फेक र स्पाम अकाउन्ट हटाएपछि प्रयोगकर्ताहरुमा युट्यूब “फेयर प्लेयिंग फिल्ड” अर्थात् निष्पक्ष प्ल्याटफर्म रहने विश्वास गुगलले राखेको छ ।  

गुगलले नियमित रुपमा युट्यूब अकाउन्ट र च्यानलको वैधताको जाँच गर्नेछ । अकाउन्टलाई शंकास्पद भेट्नासाथ गुगलले उक्त अकाउन्टलाई डिलिट गरिदिने छ । डिलिट गरिसकेपछि उक्त अकाउन्टबाट गरेका सब्सक्राइब, कमेन्ट, लाइक, डिसलाइक आदि सबै हट्नेछ जसले गर्दा च्यानलको सब्सक्राइबर र भिडियोको लाइक र कमेन्ट  घट्ने छ ।

गुगलको यस कार्यबाट साना अकाउन्टमात्र नभएर प्युडीपाई र टिसिरिजजस्ता ठूला च्यानलको पनि सब्सक्राइबर घट्ने सम्भावना रहेको छ । उच्च फेक सब्सक्राइबर रहेको र १००० सब्सक्राइबर पनि नपुगेको च्यानललाई युट्यूब पार्टनर प्रोग्रामबाट हटाइनेछ । र त्यस्ता च्यानलले ठीक तरिकाबाट १००० सब्सक्राइबर पाएपछि मात्र पुन: पार्टनर प्रोग्राममा समावेश गरिनेछ । यसबाट असर परेका युट्यूब च्यानलहरुलाई युट्यूब स्टुडियो र क्लासिक क्रियटर स्टुडियो मार्फत जानकारी दिईने ।

स्पाम र फेक अकाउन्टले गर्दा साना युट्यूब च्यानल पनि रातारात ठूला हुँदै गएका थिए । ट्वीटरले पनि केहि महिना अगाडी फेक अकाउन्टहरु बन्द गरेको थियो जसले गर्दा निकै प्रचलित भनिएका प्रयोगकर्ताको पनि फलोवर ह्वातै घटेर आएको थियो । यसै गरि फेसबुकले पनि हालसम्म १.३ अर्बवटा फेक अकाउन्ट डिलिट गरिसकेको छ । सन् २०१८ को सुरुको ३ महिनामा मात्रै पनि ५४ करोडवटा फेक फेसबुक अकाउन्टहरु डिलिट भएको थियो ।

 

 

यसमा तपाईको मत