ग्याजेट विशेष

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

  नागरिक   2020-08-01

क्यामराको रेजोलुसन जनाउनका लागि प्रयोग हुने शब्द हो मेगापिक्सल । तर यस निकै प्रचलित शब्दलाई स्मार्टफोन क्यामराको प्रयोगकर्ता देखि डी एस एल आर प्रयोगकर्तासम्म धेरैले नबुझी नै प्रयोग गरिरहेका हुन्छन् ।

मेगापिक्सलको अर्थ हो १ मिलियन वटा पिक्सल । १ मिलियनको अर्थ हो १० लाख । यसर्थ, एक मेगापिक्सलको अर्थ हो १० लाख वटा पिक्सल । यसै गरि ८ मेगापिक्सलको क्यामराले ८० लाख वटा जति पिक्सल भएको तस्विर खिच्न सक्छ । ।

पिक्सलको अर्थ के ?

पिक्सल भन्ने शब्द “पिक्चर इलिमेन्ट“ को छोटो रुप हो जसको अर्थ हो तस्विरको तत्व । पिक्सललाई डिजिटल ग्राफिक्सको आधारभूत कुरा मान्न सकिन्छ । कुनै पनि डिजिटल तस्विरमा हुने एउटा थोप्लोलाई पिक्सल भनिन्छ । एउटा पिक्सलले एकपटकमा एकै रंग देखाउने गर्दछ । यस्तै रंगले भरिएका थोप्लोहरू मिलेर नै हामीले डिजिटल संचारमा हेर्ने तस्विरहरू बनेका हुन्छन् - चाहे सो स्मार्टफोनको डिस्प्लेमा होस् या कम्प्युटर मोनिटरको डिस्प्लेमा ।

के हो क्यामरा रेजोलुसन ?

क्यामरा वा कुनै पनि डिजिटल ग्राफिक्स सम्बन्धि कुरामा रेजोलुसनले उक्त ग्राफिक्सको आकार र साइजलाई जनाउछ । क्यामराको सन्दर्भमा रेजोलुसनले उक्त क्यामराले कुन साइजको तस्विर खिच्न सक्छ भन्ने कुरा बुझाउछ ।

उदाहरणका लागि:

क्याननको रिबेल क्यामरा मोडलले २०४८x३०७२ रेजोलुसनको तस्विर खिच्न सक्छ । यहाँ २०४८ र ३०७२ अंकहरूले यो क्यामराले खिच्ने फोटोको चौडाई र लम्बाई कति हुन्छ भनेर बुझाउछ । यसर्थ, यस क्यामराले खिच्ने तस्विरको लम्बाईमा ३०७२ वटा पिक्सल छन् भने चौडाईमा २०४८ वटा पिक्सल छन् । यी दुई अंकलाई गुणन गर्दा ६२९१४५६ आउछ - जुन लगभग ६३ लाख हो । यसर्थ उक्त क्यामरा ६.३ मेगापिक्सलको हो ।

धेरै मेगापिक्सलको फाइदा के ?

जति धेरै मेगापिक्सलको क्यामरा, उक्त क्यामराले त्यति नै धेरै रेजोलुसनको तस्विर खिच्न सक्छ । धेरै रेजोलुसन तस्विरमा धेरै जानकारीहरू समेटिएको हुन्छ भने रंगहरू पनि राम्रोसँग देखिएको हुन्छ ।

धेरै मेगपिक्सल भएको क्यामराले धेरै रेजोलुसनको भिडियो पनि खिच्न सक्छ । उदाहरणका लागि: 4K भिडियो खिच्नका लागि कम्तिमा पनि ८.७ मेगापिक्सलको क्यामरा भएको स्मार्टफोन वा क्यामरा आवश्यक पर्छ । सोभन्दा कम रेजोलुसन भएको स्मार्टफोन क्यामराले 4K मा भिडियो खिच्न सक्दैन । यसै गरि १०८०p अर्थात् फुल एचडी भिडियो खिच्नका लागि २ मेगापिक्सल वा सोभन्दा बढी रेजोलुसन भएको क्यामरा चाहिन्छ ।

मेगापिक्सलको पछाडी नलागौं

मेगापिक्सलले क्यामराको गुणस्तरलाई भन्दा पनि क्यामराले खिच्ने तस्विरको रेजोलुसनलाई बुझाउछ । आजभोली बजारमा ४८ मेगापिक्सलसम्मका क्यामरा भएको स्मार्टफोनहरू पनि खरिद गर्न सकिन्छ । तर धेरै मेगपिक्सल वा रेजोलुसन हुँदैमा क्यामरा राम्रो हुने होइन । क्यामरा राम्रो हुनका लागि क्यामराको सेन्सर र क्यामराको तस्विरलाई मिलाउने सफ्टवेयर पनि राम्रो हुनुपर्छ । यहि कारणले गर्दा नै थोरै मेगापिक्सल भएपनि सामसंग ग्यालेक्सी एस १० को क्यामरा सायोमी रेड्मी नोट ७ को भन्दा निकै राम्रो छ । रेड्मी नोट ७ मा ४८ मेगापिक्सलको क्यामरा रहेको छ भने सामसंग ग्यालेक्सी एस १० मा केवल १६ मेगापिक्सलको क्यामरा रहेको छ ।

अहिलेको समयमा स्मार्टफोन निर्माताहरूले मेगापिक्सल धेरै देखाएर उपभोक्ता माझ कुनै एक स्मार्टफोन क्यामरालाई राम्रो हो भन्ने भान पार्न खोजिरहेका छन्, जुन धेरै हदसम्म गलत हो । त्यसैले उपभोक्ताले पनि मेगापिक्सलको पछाडी नलाग्नु र स्मार्टफोन वा कुनै पनि डिजिटल क्यामरालाई मेगापिक्सलको सट्टा अन्य गुणस्तरबाट मापन गर्नु उचित हुन्छ ।

 

 

 

 

 

 

यसमा तपाईको मत