ग्याजेट विशेष

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

  नागरिक   2019-11-16

मोटोरोलाले आफ्नो निकै रुचाइएको र प्रचलित रेजर ब्राण्डलाई फिर्ता ल्याएको छ । पहिले फोल्ड गर्न मिल्ने र साधारण फोन रहेको मोटोरोला रेजर अहिले एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने छ भने यसमा फोल्डिंग डिस्प्ले राखिएको छ ।

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ । तर पुरानो बटनहरूको सट्टा यस स्मार्टफोनमा फोल्ड गर्न मिल्ने डिस्प्ले थपिएको छ ।

सबै अन्फोल्ड गर्दा यस स्मार्टफोनको डिस्प्ले साइज ६.२ इन्चको हुनेछ । ओलेड प्रविधिबाट निर्माण गरिएको डिस्प्लेको प्रयोग गरिएको छ  । डिस्प्लेको अनुपात २१:९ को रहेको छ जसले गर्दा यो स्मार्टफोनलाई एक हातले प्रयोग गर्न सजिलो हुनेछ ।

 अन्फोल्ड गरेर प्रयोग गर्दा साधारण जस्तै देखिने यस स्मार्टफोनलाई फोल्ड गरेर सानो र कम साइजको बनाउन सकिने छ । अगाडी पट्टि सूचनाहरू हेर्न र पढ्नका लागि २.७ इन्चको सानो ८००x६०० रेजोलुसनको डिस्प्ले राखिएको छ ।

डिस्प्लेमा माथि पट्टि सानो नच रहेको छ जसमा ५ मेगापिक्सल राखिएको छ । बाहिर पट्टि १६ मेगापिक्सलको क्यामरा रहेको छ जसले नाइट भिजन मोड पनि सपोर्ट गर्छ ।

स्नापड्रागन ७१० प्रोसेसरमा चल्ने यस स्मार्टफोनमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज राखिएको छ । चार्जिंगका लागि युएसबी सी को प्रयोग गरिएको छ । ब्याट्री भने अन्य स्मार्टफोनहरू भन्दा धेरै हदसम्म कम रहेको छ - केवल २५१० mAh को ।

सफ्टवेयरको सन्दर्भमा यस स्मार्टफोनमा एन्ड्रोइड ९ संस्करण चल्छ जहाँ कि एन्ड्रोइड १० रिलिज भएको केहीबेर भइसकेको छ ।

सामसंगको फोल्डको फोल्ड हुने डिस्प्लेमा देखा परेका समस्याहरू यस स्मार्टफोनमा देखा नपर्ने दाबी मोटोरोलाले गरेको छ । मोटोरोलाले सोही समस्याहरू देखा नपरोस भनेर नै फोल्डिंगका लागि बेग्लै प्रविधिको प्रयोग गरेको छ । फोल्डिंग डिस्प्लेमा रहेको हिंज अर्थात् कब्जा निर्माण गर्नका लागि मोटोरोलाले लेनोभोसंग सहयोग लिएको छ ।

यस स्मार्टफोनको प्रारम्भिक मूल्य १५०० अमेरिकी डलर तोकिएको छ ।

तस्विर स्रोत: द भर्ज


यसमा तपाईको मत