ग्याजेट विशेष

कपडा भित्र पनि देख्न सक्ने क्यामरा भएको स्मार्टफोन

  नागरिक   2020-05-14

गत महिना वनप्लसले रिलिज गरेको वनप्लस ८ प्रो मा विशेष प्रकारको क्यामरा सेन्सर राखिएको छ । उक्त क्यामरा सेन्सर इन्फ्रारेड लाइटसँग संवेदनशील रहेको छ । यसर्थ यस क्यामराको सेन्सरले पातला प्लास्टिक र कपडाहरू पछाडी के छ भनेर हेर्न सक्छ ।

पातला प्लास्टिक र कपडाको सतह पछाडी के छ भनेर सजिलै हेर्न मिल्ने “फिचर” लाई यस स्मार्टफोनको क्यामरामा समावेश गरिएको छ ।

हामीले दैनिक रूपमा प्रयोग गर्ने वस्तुहरूको भित्र पट्टी के छ भनेर पनि हेर्न मिल्ने फिचर यस स्मार्टफोनको क्यामरा एपमा राखिएको छ ।

यस मोडलाई सुचारु गर्नका लागि वनप्लस ८ प्रोको क्यामरा एप खोलेर फिल्टर मोडलाई फोटोक्रोममा चयन गर्नु पर्ने हुन्छ ।

एन्ड्रोइडपिट नामक वेबसाइटका एक प्रबन्धकले एक तस्विर सार्वजनिक गरेका छन् जसमा उनीले लागेको टिसर्ट भित्र भएको पेपरमा लेखिएको कुरालाई स्पष्टसँग पढ्न सकिन्छ । तर, यस स्मार्टफोनको क्यामराले सबै कपडाहरूको पछाडी के छ भनेर हेर्न चाहिँ मिल्दैन । निकै पातला कपडा र IR शिल्ड नगरिएको प्लास्टिक पछाडी के छ भनेर हेर्न भने सम्भव हुन्छ ।

स्मार्टफोन क्यामरामा इन्फ्रारेड सेन्सरको प्रयोग गर्न कुनै नौलो कुरा भने होइन । एप्पल र गुगलले आफ्ना स्मार्टफोनहरूमा फेस रेकगनिसनका लागि यस आइआर सेन्सरको प्रयोग गरेका छन् । तर तस्विर खिच्न कै लागि भनेर स्मार्टफोनको क्यामरामा आइआर सेन्सर प्रयोग गर्नु चाहिँ नौलो कुरा हो ।

सन् १९९८ मा पनि सोनीले एउटा क्यामरा बजारमा रिलिज गरेको थियो जसबाट कपडाको पछाडी पनि हेर्न मिल्थ्यो । उक्त क्यामरा बजारमा उपलब्ध भएको केहि समय पछि नै सोनीले सो मोडलको सम्पूर्ण क्यामरालाई फिर्ता मगाएको थियो ।

वनप्लसले यस विषयलाई कसरी मिलाउने छ भन्ने कुराको जानकारी अहिलेसम्म आएको छैन । यस विषयमा वनप्लसले कुनै पनि सार्वजनिक बयान व्यक्त गरेको छैन ।

स्रोत: Androidpit

 

यसमा तपाईको मत