ग्याजेट विशेष

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

  नागरिक   2019-08-16

चार्ज गर्न मिल्ने ब्याट्रीबाट चल्ने मोबाइल फोनको निर्माण सँगै उब्जेको प्रश्न हो - स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन भन्ने |

रातभर स्मार्टफोन चार्ज गर्दा ब्याट्रीको प्रयोग समयमा फरक पर्छ कि पर्दैन ?

कुनै पनि ब्याट्रीले आफ्नो असली क्षमतामा रहेर कति पटकसम्म फुल चार्ज भएर डिस्चार्ज हुनसक्छ भन्ने कुरालाई उक्त ब्याट्रीको साइकल संख्या भन्ने गरिन्छ | उदाहरणका लागि : यदी तपाईंले स्मार्टफोनको ब्याट्रीलाई ५० प्रतिशतबाट १०० प्रतिशतसम्म चार्ज गर्नुहुन्छ भने उक्त ब्याट्रीको आधा साइकल पूरा हुन्छ | यसै गरी एकपटक शून्य प्रतिशत बनाएर १०० प्रतिशत बनाउँदाखेरि उक्त ब्याट्रीको एक साइकल ( चक्र ) पूरा हुन्छ |

साधारण स्मार्टफोन ब्याट्रीमा ४०० वटा चार्ज साइकल हुने गर्दछन् | यसै कारणले गर्दा पनि स्मार्टफोन खरिद गरेको करिब एक देखि डेढ वर्ष पछि उक्त स्मार्टफोनको ब्याट्रीले सुरुमा जस्तो राम्रो काम गर्न छाड्छ |

यस साइकललाई कति समय चार्ज गरियो भन्ने कुराले केही फरक पार्दैन | कुनै पनि लिथियम आयन ब्याट्री कति समयसम्म चार्ज भयो भन्दा पनि ब्याट्री कति प्रयोग भयो भन्ने कुरामा उक्त स्मार्टफोनको ब्याट्रीको आयु निर्भर हुन्छ |

स्मार्टफोन र अन्य विद्युतीय उपकरण मर्मत गर्ने आइफिक्सइटका अध्यक्ष काइल विएंसले रातभर स्मार्टफोन चार्जमा जोडेपनि स्मार्टफोनको ब्याट्रीलाई खासै असर नपर्ने बताउछन् | स्मार्टफोनको ब्याट्री प्रयोगमा आए पनि नआए पनि निरन्तर चार्ज र क्षमता गुमाउने गर्दछन् | त्यसैले रातभर चार्ज गरेर स्मार्टफोनको ब्याट्रीको गुणस्तर र प्रयोग आयु देख्न सकिने गरि घट्ला कि भनेर डराउनु पर्दैन |


१०० प्रतिशत पछि पनि चार्ज गर्दा केही असर गर्छ कि गर्दैन ?

आजभोलिमा हरेक स्मार्टफोनहरू, नामले सुझाए अनुसार, साचिकै स्मार्ट छन् | सबै नयाँ स्मार्टफोनहरूमा एउटा सानो स्मार्ट चिप राखिएको हुन्छ जसले स्मार्टफोनको ब्याट्रीलाई १०० प्रतिशतभन्दा बढी चार्ज हुन दिदैन | यसर्थ, स्मार्टफोनको ब्याट्रीको चार्ज १०० प्रतिशत पुगेपछि सो चिपले ब्याट्रीलाई चार्ज गर्न बन्द गरिदिन्छ | त्यसैले १०० प्रतिशत चार्ज भएपछि पनि स्मार्टफोनलाई चार्ज मै जोडेर छाड्दा पनि केही फरक पर्दैन |


निष्कर्ष :स्मार्टफोनको ब्याट्रीलाई १००  प्रतिशत हुँदा पनि चार्ज गरिरहँदा केही असर नपर्ने भएकाले र स्मार्टफोनको ब्याट्री कति समय चार्ज भयो भन्ने कुरामा निर्भर नहुने भएकाले रात भर स्मार्टफोन चार्ज गर्दा पनि स्मार्टफोनको ब्याट्रीमा खासै फरक पर्दैन |

 

 

यसमा तपाईको मत