ग्याजेट विशेष

राउटर खरिद गाइड !

  नागरिक   2020-09-24

राउटर खरिद गर्ने सोचमा हुनुहुन्छ ? यी कुराहरू ध्यानमा राख्नुहोस्:

१. प्रकार


सबैभन्दा पहिले त तपाईंलाई कुन प्रकारको राउटर चाहिएको हो भनेर थाह पाउनु आवश्यक छ । बजारमा सामान्यतया दुई प्रकारका राउटर खरिद गर्न पाइन्छ - डीएसएल र एडीएसएल ( DSL and ADSL ) । तपाईंले नेपाल टेलिकमको एडीएसएल सेवा प्रयोग गर्नु हुन्छ भने एडीएसएल राउटर खरिद गर्नु पर्ने हुन्छ । अन्य कुनै पनि सेवा प्रदायकको इन्टरनेट प्रयोग गर्दा डीएसएल राउटर खरिद गर्नु पर्ने हुन्छ ।

२.  बजेट

बजारमा घरेलु प्रयोजनका लागि नेरु १५०० देखि नेरु ४०,००० मूल्यका राउटरहरू खरिद गर्न सकिन्छ । राउटरको मूल्य राउटरमा भएको फिचर, राउटरको गुणस्तर, राउटरको स्पिड र राउटरको रेन्जले निर्धारण गर्छ । सस्ता राउटरहरूमा कम फिचर्स हुन्छन, स्लो हुन्छन, कम रेन्ज हुन्छ र गुणस्तर पनि कम नै हुन्छ । महँगा राउटरहरूमा बढी फिचरहरू हुन्छन, फास्ट हुन्छन, रेन्ज धेरै हुन्छ र गुणस्तर पनि अधिकाँस अवस्थामा राम्रो हुन्छ ।

 

३. स्पिड

बजारमा अहिले 802.11n र 802.11ac स्तरमा राउटरहरू सजिलै खरिद गर्न सकिन्छन् । 802.11ax अर्थात् वाईफाई ६ वाइफाईको नयाँ स्तर भएपनि अधिकांस उपकरणले यसलाई सपोर्ट गर्दैन त्यसैले वाइफाई ६ सपोर्ट गर्ने राउटर किनिहाल्नु पर्छ भन्ने हुँदैन ।

802.11n अर्थात् छोटकरीमा n स्तरका राउटरहरू सबैभन्दा प्रचलित हुन् । नेरु १५०० देखि नेरु ४००० सम्म पाइने अधिकांस राउटरका मोडलहरू यहि स्तर कै हुन् । यो स्तर एक दशकभन्दा पनि पुरानो स्तर भएपनि बजारमा सबैभन्दा प्रचलित नै यहि रहेको छ । 802.11ac अर्थात् छोटकरीमा ac स्तरका राउटरहरू n स्तरभन्दा नयाँ राउटर हुन् ।

n स्तरको राउटरको अधिकतम स्पिड ३०० देखि ४५० Mbps रहन्छ । ac स्तरको राउटरको स्पिड १३०० Mbps सम्म पुग्न सक्छ ।

हामीले प्रयोग गर्ने इन्टरनेटको स्पिड २० देखि ५० Mbps को हुन्छ । त्यसैले n र ac राउटरमा हाम्रो लागि स्पिडको सन्दर्भमा धेरै भिन्नता हुँदैन । तर ac राउटरका अन्य फाइदा रहेका छन् - यिनीहरूले एकैपटकमा धेरै प्रयोगकर्ता धान्न सक्छन । ac राउटरमा अनलाइन गेमहरू n को तुलनामा राम्रोसँग चल्छन् ।

४. घरको आकार र प्रयोगकर्ता

राउटर कस्तो स्थानमा प्रयोग गर्दै हुनुहुन्छ भनेर पनि कस्तो राउटर खरिद गर्ने भन्ने कुरालाई असर गर्छ ।

४ देखि ६ वटा उपकरणहरू मात्र एकैपटक जडान गर्ने हो भने र सानो क्षेत्रफलमा मात्र प्रयोग गर्ने हो भने n स्तरको र एउटा मात्र एनटेना भएको राउटर पनि काफी हुन्छ ।  

ठूलो घर, धेरै प्रयोगकर्ता र धेरै उपकरण जडान हुने अवस्थामा भने कम्तिमा पनि दुईवटा एनटेना भएको, डुएल ब्याण्ड भएको र ac स्तरको राउटर खरिद गर्नु उचित  हुन्छ । n स्तरको राउटरमा धेरै प्रयोगकर्ता जडान गरेमा इन्टरनेट राम्रोसँग नचल्ने समस्या रहन्छ ।

 

यसमा तपाईको मत